विराटनगर, १५ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ भेटघाट गर्नुभएको छ । विसं २०७८ कात्तिक २५ गते कार्यभार सम्हाल्नुभएका प्रदेश प्रमुख खापुङ यही कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुनुहुँदैछ ।
बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उहाँले पुर्याउनुभएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा सीमित स्रोतसाधनकाबीच विकास र स्थिरतालाई अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी दिँदै सङ्घीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लाग्नुभएका प्रदेश प्रमुख खापुङप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । मुख्यमन्त्रीले अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन प्रदेश प्रमुख खापुङले खेल्नुभएको भूमिका स्मरणीय रहने बताउनुभयो ।
भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था छ ।
—