कीर्तिपुर(काठमाडौं), १५ कार्तिक । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको खेलमा पोखरा एभेन्जर्ससामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आजको खेलमा पोखराले टस जितेर बलिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको हो।
जनकपुरका ओपनर मोइन अली १६ बलमा २१ रन बनाउदा पोखराका सकिब अल हसनको बलमा बोल्ड भए। मोइनले त्रितराज दाससँग पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे। सेफ हसनलाई १ रनमा सकिबले नै बोल्ड गरे ।
पावर प्लेमा विना विकेटको नोक्सानीमा ४५ रन बनाएको जनकपुरले १० ओभरको समाप्तिमा थप १२ रन जोड्दा २ विकेट गुमायो।
जनकपुरका कप्तान हरमित सिंहलाई पनि ९ रन बनाउदा सकिबले नै पेभिलियनको बाटो देखाए । ९ बलमा ९ रन बनाएका अनिल साह ९ रनमा मोहम्मद सैफुद्दिनको बलमा बोल्ड भए।
त्रितराजले ४९ बलमा ६ चौका र १ छक्कासहित अर्धशतक पूरा गरे। उनले ४९ रनमा सकिबबाट जीवनदान पाएका थिए। मेहेदीको बलमा सकिबले क्याच ड्रप गरेका थिए। ५५ बलमा ७ चौका र १ छक्कासहित टोलीका लागि सर्वाधिक ६१ रन बनाएका त्रितराज मेहेदीको बलमा पोखराका कप्तान कुशल भुर्तेलबाट क्याच आउट भए।
जेम्स निसम १० बलमा ११ रन बनाएर चमिका करुनारत्नेको बलमा आउट भए। २ रन बनाएका अमर राउटेलाको विकेट पनि करुनारत्ने लिए।
जनकपुरका अभिषेक तिवारीले १० बलमा नटआउट २४ रन जोडे।
जनकपुरलाई रोक्ने क्रममा पोखराका सकिबले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। करुनारत्नेले २, मेहेदी र सैफुद्दिनले समान १ । १ विकेट लिए।







