Prakash Adhikari December 15, 2017

काठमाडौं, २८ मंसिर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीवारदेखि कारोबार सुरु गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे ।

प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए ।उनले नयाँ बीमा कम्पनी सञ्चालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने दाबी गरे ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संंक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने अपेक्षा गरे ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताए ।उनले शहरदेखि गाउँसम्म जीवन बीमा विस्तार गर्ने बताए। उनले दश वर्षको धैर्य र नौ महिनाको अथक परिश्रमपछि कम्पनी कारोबारको अवस्थामा आएको उल्लेख गरे ।

कार्यक्रममा सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा रविन्द्रप्रसाद श्रेष्ठ, प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल लगायतकाको उपस्थिति रहेको थियो ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधरण सेयर जारी गर्नेछ ।

कम्पनीले अमूल्य जीवन बीमा (आजीवन बीमा) र सम्बृद्ध जीवन बीमा (सावधिक बीमा) योजना सञ्चालनमा ल्याएको छ ।

Share Now

Leave a comment.