Prakash Adhikari December 15, 2017

काठमाडौं, २९ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार पहिलोपटक राष्ट््रपति विद्यादेवी भण्डारीसंग भेट गर्नुभएको छ । भेटमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भैसकेकोले राष्ट्रियसभाको निर्वाचन सम्पन्न गराउन सरकारले पेश गरेको अध्यादेश तुरुन्त जारी गर्न प्रधानमन्त्रीले राष्ट््रपतिसमक्ष अनुरोध गर्नुभएको थियो ।

राष्ट्रपतिलाई भेट्न बिहीबार शीतलनिवास पुग्नुभएका देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको तर्क पेश गर्नुभएको थियो।

राष्ट्रियसभा गठन नभएसम्म राष्ट््रपतिले संसदको आह्वान पनि गर्न नमिल्ने र नर्या सरकारको गठन प्रकृया पनि अबरुद्ध हुने भएकोले अध्यादेश अबिलम्ब जारी गरिदिन प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो ।

‘राष्ट्रियसभा गठन नभएसम्म निर्वाचन प्रक्रियाले पूर्णता पाउँदैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उहाँलेका प्रेस संयोजक गोविन्द परियारले भन्नुभयो, ‘राष्ट्रियसभा गठन नभईकन सत्ता हस्तान्तरण कठिन भयो, अध्यादेश स्वीकृत गरेर बाटो खोलिदिनुस् । छिट्टो सत्ता हस्तान्तरणका लागि म आतुर छु ।’

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा दलीय सहमति नजुट्दा स्वीकृत गर्न कठिन भएको जानकारी प्रधानमन्त्रीलाई गराउँदै छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिनुभएको थियो । राष्ट्रिसभा गठनसम्बन्धी अध्यादेश विषयमा सरकार प्रमुख र राष्ट्र प्रमुखबीच छलफल भए पनि कुनै निष्कर्षमा राष्ट्रपति र राष्ट्रपतिको कार्यालय पुगिसकेको छैन ।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गर्दा वा नगर्दा सरकार गठनदेखि अन्य प्रक्रिया अघि बढाउन आइपर्ने बाधाका विषयमा विभिन्न पक्षसँग छलफल जारी राख्नुभएको छ ।

राष्ट्र प्रमुख र सरकार प्रमुखबीच भएको नियमित भेटबारे जानकारी दिँंदै राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ साहले राष्ट्रियसभा गठसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनसहितका समसामयिक विषयमा छलफल भएको बताउनुभयो।

संविधानको धारा ८४ (८) र धारा ५५ अनुसार राष्ट्रियसभा गठन नभएसम्म नयाँ सरकार गठनको बाटो नखुल्ने र प्रतिनिधिसभातर्फ समानुपातिक सांसद छनोटमा पनि समस्या हुने संवैधानिक व्यवस्था छ ।

भेटमा प्रधानमन्त्री देउवाले नयाँ संविधानको व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको, प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको र केही दिनभित्रै समानुपातिकतर्फको मतगणना पनि सम्पन्न हुने जानकारी राष्ट्रपतिलाई गराउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि नयाँ संविधान कार्यान्वयमा महत्वपूर्ण योगदान पुगेको भन्दै यसका लागि प्रधानमन्त्री देउवासहित मन्त्रिपरिषद्का अन्य सदस्य, राजनीतिक दल, सुरक्षा निकाय, निजामती कर्मचारी सबैलाई धन्यवाद दिनुभएको थियो ।

उहाँले समयमै निर्वाचन सम्पन्न गरेर प्रधानमन्त्री देउवाले मुलुकमा जारी संंक्रमणकाल अन्त्यमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गर्नुभएको थियो।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सम्पन्न निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता र सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षा पूरा गर्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यमा राष्ट्रपतिले जोड दिएको उल्लेख छ ।

Share Now

Leave a comment.