पोखरा(कास्की), २९ मंसिर । आगामी पुस ३ (१८ डिसेम्बर) देखि काठमाडौं किर्तीपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमीयर लिग (ईपीएल)मा पोखरा राइनोजबाट खेल्न तीन पाकिस्तानी खेलाडी अनुबन्ध भएका छन् ।
हरेक सहभागी टीममा तीन विदेशी खेलाडी सहभागी गराउनैपर्ने नियमानुसार इसरार उल्लाह, अली आशिफ र ताज वालीलाई पोखरा राइनोजले भित्राएको हो । ३० वर्षीय उल्लाह र ताजवाली क श्रेणीको क्लवका खेलाडी हुन भने पेशावर, २६ वर्षीय अली आशिफ इस्लामाबाद युनाईटेडमा खेलिसकेका हुन् । लेफ्ट ह्याण्ड ब्याट्सम्यान ताजवाली दुई वर्ष अघि काजी ई ट्रफी प्रतियोगितामा ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी हुन् ।
शक्ति गौचन नेतृत्वको पोखरा टीममा यी तीन विदेशी खेलाडीसँगै विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, नुरध्वोज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सन्तोष भट्ट, सुशन भारी र देव शाह रहेका छन् । विपिन खत्री र देव शाह पोखराका उत्पादन हुन् । १६ वर्षीय उदयीमान क्रिकेटर शाहलाई नियमानुसार ट्यालेण्ट हण्टबाट चयन गरिएको हो ।
चार दिन अघिदेखि पोखरा आएको टीमले पोखराको मैदानमा क्रिकेट अभ्यास गरिरहेको छ ।
शंकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्सका प्रमुख निर्देशक शाहिल अग्रवाल यस टीमका मालिक हुन् ।
मुलुकका ६ शहरको नामबाट फ्रेन्चाइज टिम बनाइएको छ । काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन् । जसमा पारस खड्का विराटनगर, ज्ञानेन्द्र मल्ल ललितपुर, शक्ति गौचन पोखरा, शरद भेषावकर भैरहवा, सोमपाल कामी काठमाडौं, र दिपेन्द्रसिंह ऐरी चितवनका लागि मार्की खेलाडी हुन् ।
भारतको ख्यातीप्राप्त आईपीएलकै फम्र्याटमा नेपालमा सर्वाधिक धनराशीको इपीएल आयोजना गरिएको हो । राउन्ड रोबिन लिगको ढाँचामा १२ दिनसम्म चल्ने उक्त प्रतियोगीतामा ६ समुहले १९ प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टिमले लिगमा एक अर्कासँग खेल्नेछन् । र, शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ ।
प्रतियोगिताको विजेता टोलीले २१ लाख प्राप्त गर्नेछ, जुन नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक पुरस्कार राशी हो । यसअघि प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो । म्यान अफ दि सिरिजले एउटा मोटरबाइक र म्यान अफ दि म्याचले नगद पुरस्कार प्राप्त गर्नेछ ।
एक टिममा १५ खेलाडी रहनेछन् । प्रतियोगितामा सहभागिताका लागि अक्सन मार्फत प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्राएका थिए । प्रत्येक टीमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छानेका हुन् । एक जना मार्केट प्लेयर पनि राख्न पाउने छ । कम्पनी मोडलमा दर्ता भएको हरेक टिमसँग ईपीएलले १० वर्षको सम्झौता गरेको छ, र कम्तिमा तीन वर्ष नियमित सहभागिता जनाउनुपर्नेछ । यसैगरी टिमले पनि आफ्ना मार्की प्लेयरसँग ३ वर्षको सम्झौता गरेको छ । उनीहरूले तीनै वर्ष अनिवार्य सहभागिता जनाउनुपर्नेछ ।
पोखरामा विहीबार आयोजित पत्रकार सम्मेलनमा टीम कोच नविन सिंह, असिस्टेन्ट कोच, रिजेन प्रजु, फिजियो विक्रम न्यौपाने, सपोर्टिङ स्टाफ मनिश उषा, तथा म्यानेजमेन्ट मेम्बर आभाष घिमिरे, ब्राण्ड अफिसर उत्सव प्रधानाङ्ग लगायतले बोलेका थिए ।
मरुहफ किंग्स् इलेभेनबाट
श्रीलंकाका चर्चित बलिङ्ग अलराउण्डर मोहमद फरविज महरुफले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स एक्सआईबाट खेल्ने भएका छन् ।
३३ बर्षिय महरुफ इपिएल खेल्न काठमाडौं आइसकेका छन् । सन् २००४ मा श्रीलंकाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले २२ टेष्ट म्याच, १ सय ९ एकविदसीय म्याच तथा ८ टि–ट्वान्टी म्याच खेलिसकेका छन् ।
श्रीलंकन राष्ट्रिय टोलीका लागि उनले अन्तिमपटक गत बर्षको जुन महिनामा इङ्गल्याण्डविरुद्ध एकदिवसीय म्याच खेलेका थिए । टेष्ट क्रिकेटमा २५ विकेट लिएका उनले एकदिवसीयमा १ सय ३५ विकेट हात पारिसकेका छन् ।
सन् २०१० को एसिया कप क्रिकेटमा भारतविरुद्ध ह्याट्रिक समेत गरेका महरुफले सन् २००८ देखि २०१० सम्म दिल्ली डेयरडेविल्सबाट विश्वचर्चित इण्डियन प्रिमियर लिग (आईपिएल) समेत खेलेका थिए ।
काठमाण्डौ किंग्स एघारको टिममा सोमपाल कामी, नरेश बुढायर, सागर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल, अमर सिंह रौटेला रहेका छन्।
काठमाडौं किंग्स एघारले पौष ३ मा प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स बिरुद्द खेल्नेछ ।
यस अघि टिम ललितपुर प्याट्रिएट्सले आईपीएल खेलीसकेका योगेश नागर र अन्य २ भारतीय प्रथम श्रेणी क्रिकेटरलाई टिममा अनुबन्ध गरेको घोषणा गरिसकेको छ।