प्रदीप बस्याल/सम्वाददाता, बीबीसी न्यूज नेपाली
महासमिति बैठकको अघिल्लो दिनसम्म पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूबीच धर्मका मामिलामा पार्टीको लाइन के हुने भन्ने विषयमा मतैक्य हुन सकेन।
त्यसलाई पार्टीकै नेताहरू धर्मनिरपेक्षता र हिन्दूराष्ट्रबारे पार्टीभित्र रहेको फरक-फरक दृष्टिकोणको परिणाम ठान्छन्।
जसका कारण महासमिति बैठकमा प्रस्तुत गरिने महत्त्वपूर्ण दस्तावेजहरू केन्द्रीय समितिबाट पारित भएनन्।
विवाद
धर्मको बारेमा नेपालको संविधानले व्याख्या गरेअनुसार नै कांग्रेस अगाडि जानेछ।
विमलेन्द्र निधी, उपसभापति, नेपाली कांग्रेस
पार्टी उपसभापति विमलेन्द्र निधि देशले हासिल गरेका पछिल्ला राजनीतिक उपलब्धि आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताइरहेका छन्।
महासमितिमा कसरी प्रस्तुत गरिनेछ भन्ने स्पष्ट न खुलाए पनि उनले भने, “धर्मको बारेमा नेपालको संविधानले व्याख्या गरेअनुसार नै कांग्रेस अगाडि जानेछ।”
पार्टीका केन्द्रीय सदस्य सदस्य शङ्कर भण्डारीले हिन्दूत्व नेपालको पहिचान भएको बताउँदै यो विषय खल्बल्याइँदा नेपालीहरुबीचको प्रेम र सद्भाव खलबलिएको भन्दै पार्टीको धारणामा पुनर्विचार अत्यावश्यक रहेको बताए।
उनले भने, “धार्मिक स्वतन्त्रता अहिलेसम्मको लागि विकल्प ठानिए तापनि पार्टीभित्र जबरजस्ती धर्मनिरपेक्षताको कुरा उठाइएमा एक कदम अगाडि बढेर हिन्दूराष्ट्रकै माग गरिनेछ। त्यो अहिलेको राष्ट्रिय आवश्यकता समेत हो।”
बाह्य शक्तिहरुबाट धर्मका नाममा सांस्कृतिक अतिक्रमण भएको र त्यसले धर्मान्तरण गर्ने अभियान समेत चलेको भन्दै नेताहरुले अहिले कुरा उठाइरहेका छन्।
तेस्रो धार
धर्मनिरपेक्षतामा ‘जबरजस्ती हाम फाल्दा’ उक्त कदमलाई जनताले नरुचाएको समेत निर्वाचनबाट थाहा भइसकेको ठान्नेहरु समेत छन्।
संविधान जारी हुँदा असहमतिहरुबीच सहमतिमा पुगिएको भन्दै अहिले परिवर्तित आवश्यकता अनुरुप संविधानमा परिवर्तनको मुद्दा उठाउन सकिने कतिपय कांग्रेस नेताहरुको भनाई पाइन्छ।
धार्मिक स्वतन्त्रता अहिलेसम्मको लागि विकल्प ठानिए तापनि पार्टीभित्र जबरजस्ती धर्मनिरपेक्षताको कुरा उठाइएमा एक कदम अगाडि बढेर हिन्दूराष्ट्रकै माग गरिनेछ।
शङ्कर भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
त्यसैले धर्मका बिषयमा मौन बस्न सकिने धारणा पनि एकथरीले केन्द्रीय समितिमा राखेका थिए।
त्यसरी बोल्नेमा पार्टी सभापति शेरवहादुर देउवा निकट शीर्षस्थ नेताहरू समेत छन्।
महामन्त्री शशाङ्क कोईराला भने विगत केही समययता देशले ‘राजनीतिक स्थिरता’ पाइसकेपछिको धर्मका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउँदै आएका छन्।
कृष्ण सिटौला पक्ष चाहिँ संविधान निर्माणकै बेलादेखि धर्मनिरपेक्षताको वकालत गर्दै आएको थियो।
कांग्रेसका कतिपय युवा नेताहरु भने अहिलेसम्म पार्टी सधै हिन्दूराष्ट्रको कुरामा अल्झिंदै आएको भन्दै यो महासमितिले त्यसको छिनोफानो गर्नुपर्ने बताउँछन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हिन्दूराष्ट्रको विषय केन्दीय समितिमा उठेको भन्दै फरक विचारको सम्मान गर्दै महासमिति सदस्यहरूबीच छलफल हुने देखिएको बताए।


















