Prakash Adhikari January 24, 2019

सानेपा(ललितपुर),१० माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बिहिबार बसेको बैठकमा नेताको नाममा खुलेका अस्पताल, डा. गोविन्द के.सी.को अनशन, चिकित्सा शिक्षा विधेयक, संबैधानिक परिषद्को बैठक,निर्मला पन्तको हत्या प्रकरण र नेपाल विद्यार्थी संघको अधिवेशन तथा कार्यसमितिको कार्यावधिका विषयले प्रवेश पाएको छ ।

पार्टीको केन्द्रिय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु – कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, डा. शेखर कोइराला, जीवनबहादुर शाही, शंकर भण्डारी, गगनकुमार थापा, देवेन्द्रराज कँडेल र रमेश लेखकले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कांग्रेसले आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताललाई संघीय सरकार अन्तरगत नराखी प्रदेश सरकार अन्तरगत राख्ने सरकारको निर्णयको विरोध गर्दै आएको छ । त्यस्तै चिकित्सा शिक्षा विधेयकको प्रावधानलाई लिएर अनशनरत डा. गोविन्द के.सी.को माग पूरा गर्न पनि माग गरेको छ । संसदमा विधेयक जवरजस्ती पारित गर्न खोजे प्रतिरोध गर्ने निर्णय पनि गरेको छ ।

नेपाली कांंग्रेसको यो बैठकमा सत्तापक्षले प्रतिपक्षको अस्तित्वलाई नकार्न लागेको विषयमा पनि कुरा उठेको छ । गत आइतबार संसदका प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिना बसेको संबैधानिक परिषदको बैठकले ५ वटा संंवैधानिक आयोगका प्रमुखको शिफारीश गरेको छ । यी आयोगहरुमा प्राकृतिक स्रोत तथा वित्त आयोग,समावेशी आयोग,थारु आयोग,मुस्लिम आयोग,मधेशी आयोग छन् ,

आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले सो सिफारिस गरेको थियो। बैठकले राष्ट्रिय प्राकृतिक तथा वृत आयोगको अध्यक्षका लागि पूर्वसचिव बालानन्द पौडेललाई सिफारिस गरेको छ। त्यस्तै, समावेशी आयोगमा पूर्वसचिव शान्ताराज सुवेदी, मधेशी आयोगमा विजय कुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरेको छ।
बैठकमा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको विषयले प्रवेश पाएको छ। संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुई वर्षे कार्यकालका लागि निर्वाचित भएको थियो।

बैठकमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याराको खोजी र कारबाहीको विषयले पनि प्रवेश पाएको छ ।

बैठकमा पार्टीको गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको महासमिति बैठकमा केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेका पाँच प्रतिवदेनलाई अन्तिम रुप दिई पारित गर्ने विषय पनि उठेका छन् ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ माघ १३ गते दिनको १ः०० वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः वस्नेछ ।

विज्ञप्ति जस्ताको तस्तै:

माघ १०, २०७५
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।
बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
(१) २०४० देखि २०७३ सम्म विभिन्न समयमा विकास समिति (गठन) आदेशबाट गठन भई आम नागरिकको स्वास्थ्य सेवामा क्रियाशिल एघार स्वास्थ्य संस्थालाई संघ (केन्द्र) अन्तर्गत राख्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश हुँदा सरकारले गैरजिम्मेवार र पूर्वाग्रहपूर्ण तवरले जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी –५, वेलचौतारा, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँकेलाई मात्र हटाएर वाँकी नौ वटालाई संघ अन्तर्गत रहने गरी निर्णय गरियो । श्वासप्रश्वास जस्तो गम्भीर स्वास्थ्य समस्याको उपचारमा गण्डकी प्रदेशमा क्रियाशील जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तथा प्रदेश नं. ५ र छिमेकका क्षेत्रमा क्यान्सर उपचार सेवा पु¥याउने सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले विघटनको संघारमा पु¥याएको छ । राजनीतिक पूर्वाग्रहबाट प्रेरित जनस्वास्थ्य विरोधी सरकारको यो कार्यप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक घोर आपत्ति प्रकट गर्दछ ।
जनस्वास्थ्यको क्षेत्रमा क्रियाशील जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघ (केन्द्र) को दायित्वबाट पन्छाउने निर्णय सच्चाउन संसदमा र शीर्ष नेतृत्वको तहमा नेपाली कांग्रेसले पटक–पटक सरकारको ध्यान आकृष्ट गरेको हो । सरकारले आफ्नो गलत एवं पूर्वाग्रही निर्णय तत्काल सच्याओस् । यसका लागि संघीय संसदका दुवै सदनमा नेपाली कांग्रेसले दबाब दिई रहेको बेला सरकारी निर्णय सच्याई सहज रुपमा संचालन गर्नुको सट्टा समस्याग्रस्त चिकित्सा शिक्षामा सुधार गर्नका लागि डा. गोविन्द के.सी. सँग विगत र वर्तमान सरकारले गरेको सहमति विपरित संसदमा जोरजुलुम गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न सत्तापक्ष उद्यत छ । सत्तापक्ष आम नागरिकको स्वास्थ्य होइन केही सिमित व्यक्तिको आर्थिक स्वार्थ परिपोषण गर्न लागि परेको छ ।  यस्तो परिस्थितिमा २०७५ माघ ८ गतेको प्रतिनिधि सभाको बैठकमा अमर्यादित रुपमा संसदमा मर्यादापालकहरुको प्रयोग हुनु र सत्तापक्षका सांसद नै मर्यादापालक झै प्रतिपक्ष माथि खनिनु, महिला सांसदहरुलाई रोक्न पुरुष मर्यादापालकहरु प्रयोग गरिनु र जवर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन लाग्दा समेत सम्माननीय सभामुखले हाम्रा स्थापित संसदीय परम्परा र मर्यादा अनुरुप सहमतिबाट निकास खोज्न सक्नु भएन । संसदीय अभ्यासमा सभामुख सत्ता सामु निरिह हुन सक्दैन । निष्पक्षता र निर्भिकताबाट मात्रै संसदीय मर्यादा कायम रहन्छ, स्थापित नजीर र परम्परा जोगिन्छन्, लोकतन्त्रिक अभ्यास पुष्ट हुन्छ । तसर्थ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ (केन्द्र) अन्तर्गत राखी यी संस्थाको भविष्य सुरक्षित गर्न नेपाल सरकारलाई सचेत गर्दछ । साथै, स्थापित संसदीय परम्परा, अभ्यास र लोकतान्त्रिक मान्यता अनुरुप संयम, धैर्य र संवादको माध्यमबाट निकास खोजी सहज रुपमा संसद सञ्चालन हुने परिस्थिति निर्माण गर्न सत्तापक्ष र सम्माननीय सभामुखलाई आग्रह गर्दछ ।
(२) प्रमुख प्रतिपक्षी दलका नेता श्री शेरबहादुर देउवाको उपस्थिति वेगर संवैधानिक परिषद्को बैठक राखिएको र नियुक्तिका केही निर्णय गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । केवल एउटा बैठक र केही निर्णयको प्रश्न मात्रै होइन, प्रश्न मूलतः सरकारको नियतप्रति हो । प्रश्न विधि, पद्धति र लोकतान्त्रिक राज्यसंस्कृतिलाई खण्डीत गर्ने प्रवृत्तिप्रति हो । संवैधानिक परिषद्को प्रावधान र गरिमा विपक्षी मत समेतको सहभागीतामा अघि बढ्ने लोकतान्त्रिक संस्कृतिसंग सम्बन्धीत छ । अतः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक लोकतान्त्रिक मुल्य, मान्यता र स्थापित विधिलाई उल्लघंन गरेर अघि बढ्न गरिएको प्रयत्नलाई गम्भीर ढंगले लिंदै घोर भत्र्सना गर्दछ ।
(३) चिकित्सा शिक्षामा सुधारका लागि नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले अध्यादेश मार्फत दुरगामी निर्णय लिएको थियो । तर, प्रतिस्थापन विधेयक मार्फत त्यसलाई उल्ट्याउने वर्तमान सरकारको अघिल्लो प्रयत्न र पछिल्लो समयमा प्रधानमन्त्रीकै अग्रसरतामा भएको सम्झौता विपरीत संसदीय समितिबाट वहुमतको आडमा विवेकलाई कुल्चिएर अघि बढ्न खोजिएका कारण आजको जटिलता उत्पन भएको हाम्रो ठहर छ । डा. गोविन्द केसीले प्रारम्भ गर्नु भएको अनसन आज १६ दिन पुग्दै गर्दा एकातर्फ उहाँको स्थास्थ्य स्थिति नाजुक बन्दै गएको, अर्कोतर्फ सरकार संवेदनाशुन्य बनेको विषयलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठकले गम्भीरतापूर्वक लिएको छ । केन्द्रीय कार्यसमितिको यो बैठक आम नेपाली जनताको स्वास्थ्यको हकको लागि अनवरत संघर्ष गरिरहनु भएको सत्याग्रही डा. केसीको जीवन रक्षाको विषयमा गम्भीर बन्न सरकारलाई सचेत गराउँदछ ।
फेरीपनि संवाद र सहमति भन्दा अर्को विकल्प छैन । डा. केसीसंग गत साउनमा सरकारले गरेको सम्झौतालाई संसदमा पेश गरी सर्वसम्मतीले अनुमोदन गरेको स्मरण गराउदै सो अनुरुपको विधेयक निर्माण गरी समाधानमा पुग्न सरकारसंग जोडदार माग गर्दछ ।
(४) कञ्चनपुर जिल्लाको १३ वर्षीय बालिका निर्मला पन्तको वलात्कार पछि हत्या भएको आज माघ १० गते छ महिना भएको छ ।
मानव सभ्यताकै कलंकका रुपमा देखिएको यो जघन्य, क्रुर एवं अमानवीय अपराधीक घटना जनताको सर्वाधिक चिन्ता र चासोको विषय बनेको छ । यस घटना बारे सरकारले सत्य तथ्य अनुसन्धान गरी अपराधीलाई कानूनी कारवाही गर्नुको साटो सरकार र मातहतका निकायका गतिविधि गैर जिम्मेवार, संवेदनहिन र शंकास्पद देखा परेका छन् । घटनास्थलमा विद्यमान प्रमाण नष्ट गर्ने, घटनाको अन्वेषण अनुसन्धान सही तरिकाले नगर्ने, न्याय माग्ने क्रममा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकहरुमा ज्यादतीपूर्ण रुपले वल प्रयोग गर्ने, छानवीनको नाममा उपलव्धीहिन आयोग र अनुसन्धान समिति गठन, निर्दोष व्यक्तिहरुलाई निर्मम रुपले यातना दिई मानसिक समस्या उत्पन्न हुने गरी नक्कली अपराधी बनाउने प्रयत्न गर्ने, सरकारका जिम्मेवार मन्त्रीहरुले अपराधी पत्ता लागिसक्यो भनी पटक–पटक जन मानसमा भ्रम फैलाउने जस्ता काम यो छ महिनामा भएका छन् । यसले सरकार अपराधी पत्ता लगाउन चाहन्छ वा स्वयं अपराधी लुकाउन क्रियाशील छ भन्ने गम्भीर शंका उत्पन्न भएको छ ।
यो घटनापछिका छ महिनामा सरकारका गतिविधि लाचार, गैरजिम्मेवार, संवेदनहिन र लज्जाजनक देखिएको छ । यसबीचमा देशव्यापी रुपमा वलात्कार र हिंसाका सयौं घटना भएका छन् जसले सरकारको असक्षमता र नालायकीपन प्रमाणित भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको यो बैठक निर्मला पन्त प्रकरणमा सरकारबाट भएका लज्जास्पद गतिविधिको घोर भत्र्सना गर्दै घटनाको अविलम्व सत्य तथ्य छानवीन गरी अपराधी पत्ता लगाई कडा कानूनी कारवाही गर्न पुनः जोडदार माग गर्दछ ।
शोक प्रस्ताव ः
नेपाली कांग्रेसको तर्फबाट २०४९ मा स्याङ्जा जिल्ला विकास समितिका सभापति ७९ वर्षीय शिवकुमार अधिकारीको पौष १० गते, नेपाली कांग्रेस लम्जुङका पूर्व सभापति ७५ वर्षीय तारा कोइरालाको पौष २४ गते, गोरखाका प्रजातन्त्र सेनानी लोकप्रसाद ढकालको पौष २४ गते, २००७ सालको सशस्त्र संघर्षका योद्धा एवं प्रजातन्त्र सेनानी गणेशशरण रावलको पौष ३० गते, नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व महासमिति सदस्य ९२ वर्षीय भक्तध्वज प्रधानको माघ ३ गते, नेपाली कांग्रेस नगर कार्यसमिति पोखराका पूर्व सभापति ७३ वर्षीय केशवराज रेग्मीको माघ ३ गते र नेपाली कांग्रेस फिदिम नगरपालिका वडा नं. ५ का सभापति अमरकुमार तुम्वापोको माघ ६ गते, मोरङ्ग जिल्ला रङ्गेली गाविसका पूर्व सभापति तथा रङ्गेली वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष ७० वर्षीय रामेश्वरप्रसाद यादव, पर्वतका पूर्व महाधिवेशन प्रतिनिधि ७७ वर्षीय भद्रबीर गुरुङको माघ ३ गते, प्रजातन्त्र सेनानी पर्वतका ८० वर्षीय धनबहादुर मल्ल, सुर्खेत साविक थुमाखहरे गा.वि.स.का निर्वाचित पूर्व अध्यक्ष ५९ वर्षीय सहवीर खत्रीको माघ ६ गते, कास्कीको साविक लेखनाथ न.पा. वडा नं. १३ का सभापति खिमबहादुर खत्रीको माघ १ गते, नेपाली कांग्रेस काठमाडौँ—२ का महासमिति सदस्य श्री लोकेश ढकालका ८६ वर्षीय पिता  केशवप्रसाद ढकालको पौष २५ गते र नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव ईश्वर मानन्धरका माता दोलखाका इन्द्रमाया मानन्धरको निधनप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति कार्यसमितिको यो बैठक समवेदना प्रकट गर्दछ ।
आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु – कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, डा. शेखर कोइराला, जीवनबहादुर शाही, शंकर भण्डारी, गगनकुमार थापा, देवेन्द्रराज कँडेल र रमेश लेखकले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ माघ १३ गते दिनको १ः०० वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः वस्नेछ ।
विश्वप्रकाश शर्मा
प्रवक्ता
Share Now

Leave a comment.