Prakash Adhikari January 26, 2019

कमल साह

जनकपुरधाम, (धनुषा),१२ माघ । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा अर्को ऐतिहासिक महत्वको सम्पदा निर्माण गर्ने तयारी भैरहेको छ । जनकपुर उपमहानगरपालिकाले शिवपुरगढीस्थित ५२ विगाहा क्षेत्रमा राजर्षि जनकको भव्य दरबार बनाउने प्रस्ताव पारित गरेर सोको तयारीका लागि आवश्यक व्यवस्था गर्न प्रदेश सरकारको भौतिक योजना तथा प्राविधिक महाशाखा,संस्कृति विभागलार्ई पत्राचार गरेको छ । नगरपालिकाका ईन्जिनियरहरुले सो जनक दरबारको लागत झण्डै पच्चिस अर्ब रुपैया पुग्ने अनुमान गरेका छन् ।

जानकी मन्दिरको जिरायत भनेर चिनिदै आएको शिवपुर गढीको ५२ विगहा जग्गामा जनक दरबार बनाउन जनकपुर उपमहानगरपलिका वडा १९ का पदाधिकारी लगायतका बासिन्दाले सर्वसम्मतिबाट निर्णय गरिसकेका छन् । जनकपुर उपमहानगरपालिका वडा नं १९ मा गत पुस १३ गते बृहत् भेला आयोजना गरी सो निर्णय गरिएको अध्यक्ष जगदिश यादवद्धारा हस्तारक्षित पत्रमा जनाएको छ ।

भारतका विभिन्न ठाउँबाट तिर्थाटन गर्दै जनकपुरधाम आईपुगेका साधुसन्तहरु आफ्नो शोधमा शिवपुरगढीमा नै राजा जनकको राजमहल रहेको बताउँदै आएका छन । जन्म जहाँ भएपनि आफ्नो तपवलको स्थल मिथिला क्षेत्रलाई बनाउनु भएका नारद बाबाले शिवपुर गढीमा नै राजर्षि जनकको राजमहल रहेको बताउदै आउनुभएको थियो ।

शिवपुरगढी क्षेत्रमै राजा जनकको राजमहल बनाउने प्रस्ताव स्थानीय राजनीतिकर्मी एवं समाजसेवी रामगोविन्द यादवले उठाउनुभएको हो । उहाँका अनुसार राजा जनकको राजमहल निर्माणको डीपीआर तयार पार्नको लागि आर्किटेक आर.के. ठाकुरलाई प्रदेश प्रमुख लालबाबु राउतले जिम्मा लगाई सक्नुभएको छ । ५२ विगहा भनेर प्रचारित जिरायतमा वास्तवमा ३१ विगाहा ४ कठ्ठा ३ धुर जमिन रहेको छ । त्यस जिरायतको सम्पूर्ण जमिनलाई समेटेर राजा जनकको राजमहल निर्माण गर्ने योजना रहेको छ।

आर्किटेक्चर ठाकुरसंग भएको साक्षात्कारमा उहाँले करिब २५ अर्ब रुपियाँमा राजा जनकको राजमहल बनाउन सकिन ेअनुमान भईरहेको बताउनुभयो।

जानकी मन्दिर

जनक दरबारमा के के हुन्छ ?

जनक दरबारमा प्रवेशद्वार, काम्पाउण्ड वाल,वाल बाहिर पिच सडक, धनुष यज्ञ स्थल, राजकुमारहरुको बैठक कक्ष, बरियाँत घर(दलान), खण्डित धनुषको अवस्था, राम लक्ष्मण र परशुराम को सम्बाद स्थल, परशुराम आश्रम (क्रोध अवस्थाको स्वरुप), सीता विश्राम स्थल, सीता सहेली सम्वाद स्थल,सीता पालन पोषणको अवस्था, रामसंग प्रथम भेटको अवस्था प्रदर्शन र विश्वामित्रको स्वाग द्धार लगायत विभिन्न मूर्तिहरुले सजाइने छ ।

त्यस्तै विश्वामित्र राम लक्ष्मण जनकपुरधामको भ्रमण, राजा दशरथको विश्राम घर(दलान), दशरथ महाराजको स्वागत अवसरमा राजा जनक , राम सीताको कोहवर घर, सीता सहेलीद्वारा राम लक्ष्मण भरत शत्रुध्नद्धारा मजक क्षण(दुर्वानी), स्वयंवर स्थलको वरमाला मंच, सीता जन्मस्थलको फोटो, द्धारापाल प्रत्येक गेटमा, दशरथ महाराजसंगै बरातमा आएको साधनहरु जस्तै हाथी,घोडा,उँट लगायत,सीता फूलवारी, जनक राजाको कुलदेवी स्थल, पुस्तकालय, जानकीको विदाईका साधन ‘पालकी’ जानकीको संगभार दिएको समानहरुको प्रदर्शन गरिने छ ।

त्यस्तै दशरथको कनक भवन, अयोध्याबाट आएको कुमारी भार, त्यहाँबाट विवाहका लागि आएको अन्य सामग्री, मिथिलाको शाकाहारी भोजनालय(निःशुल्क), जनक कार्यकालमा अन्न राख्ने भखारी, खानाका प्रकारहरुको प्रदर्शनी, मिथिला आर्ट, मिथिलानीहरुले लगाउने गहना,सेनाको पोषाक, मिथिला भाषा लिपि, मिथिलाका खेलहरु जस्तै पहलवानी, सुरसुर,टालपुली, मरुवन मैया (मिथिलानीहरुले) खेल, सत्संग भवन(विद्वानहरुको बैठक कक्ष), अष्टावक्रको विश्राम स्थल, राजा जनकलाई प्रदान गरिएको दीक्षा स्थल, अष्टाबक्रलाई राजा जनकले स्वागत गर्दै गरेको क्षण, राजा जनकको माता पीताको विश्राम कक्ष,त्यस बेलाको संचार सेवा, राजा जनकको कार्यकालमो शासन पद्धति, त्यस बेला जनताको अवस्था (भिडियो प्रदर्शन द्वारा), राज्यमा न्याय र सजाँयको (जेलको अवस्था),राम्रा काम गर्नेहरुलाई पुरस्कार दिने पदकहरु र डोमको घर प्रदर्शन गर्ने योजना रहने जनाएको छ।

जनक दरबार बन्नुपर्ने योजनालाई अगाडी बढाउँदै आउनुभएका रामगोविन्द यादव भन्नुहुन्छ– यी बाहेक अन्य छुटेका कुराहरुलाई समेटनको लागि भारत चित्रकोटका महामण्डलेश्वर रामभद्राचार्य महाराजसंग भेट गर्नका लागि एक टोली त्यस तर्फ जाने छन ।

शिवपुरगढी क्षेत्रको जिरायतमामा रहको दुई वटा पोखरी कष्टहर्नी सर र मनमथनी सरको जिर्णोद्धार, दरबारको चारैतिरबाट रिंगरोडको निर्माण गर्ने योजना समेत समेटिने छ ।

बिक्री भएको जग्गा अधिग्रहण गरिने

जानकी मन्दिरका जिरायत भनेर प्रचारित ५२ विगहा जग्गा जानकी मन्दिरका महंत रामतपेश्वर दास बैष्णवको सक्रियतामा मौखिक विक्री भईसकेको छ । करिब अढाई दशक अघि महन्थ र जमिन खरिद गर्नेहरुबीच मौखिक मोलमोलाहिजा भएकैै आधारमा खरिद विक्री भएको जग्गा लिनेहरु बताउँछन ।

तात्कालिन जनकपुर चुरोट कारखानाका एक कर्मचारीका अनुसार उनले ३ कठ्ठा जमिन प्रति कठ्ठा ३० हजारको दरले खरिद गरेका थिए । उनीजस्ता अन्य थुप्रै व्यक्तिहरुले शिवपुरगढीको जमिन खरिद गरेका छन् ।

छुट गुठीको नाममा सञ्चालित जानकी मन्दिरको जग्गा बेचबिखिन भएको कुरा समाजसेवी मकेश्वरप्रसाद सिंहलाई राम्रो लागेन। उहाँले जानकी मन्दिरको जमिन जसरी भएपनि जोगाउनुपर्ने माग राखि स्थानीय शिवपुरवासीलाई आन्दोलित बनाउनुभयो । त्यसबेलाको जनकपुर नगरपालिकासंग टाँसिएको भएपनि शिवपुरगढी वेंगाशिवपुर गाउपालिकामा रहेको थियो । गाउँवासीले यो जग्गा हाम्रो गाउँमा भएले यसमाथि हाम्रो अधिकार हो भन्दै जनकपुरमा ठूलै विरोध जुलुस प्रदर्शन गरे। तर जग्गा खरिद गर्नेहरुले त्यहाँ घर बनाउन हिम्मत गर्न नसेको हुनाले सो जमिन आजसम्म त्यसै पर्ति रहदै आएको छ । त्यसभन्दा पहिला शिवपुर गाउँवासीहरुले धान उब्जाउने र कुतवाली जानकी मन्दिरमा बुझाउँदै आएका थिए ।

जानकी मन्दिरका महन्थ दासले बित्ता बित्ता गरेर जमिन विक्री गरेको भएपनि स्थानियबासीको सक्रियताले जोगिएको जमिनमा आज जनक दरबार बनाउने योजना प्रदेश नं २ को सरकारले ल्याएको छ। जनकपुरधाम उप महानगरपालिका– १९ का जनताले सर्वपक्षीय निर्णय गरेर प्रदेश सरकारलाई यसको प्रति बुझाइसकेका छन् । र उपमहानगरपालिकाले भौतिक निर्माण तथा यातायात मन्त्रालयमा पुस २५ गते दर्ता समेत भईसकेको छ ।

Share Now

Leave a comment.