काठमाडौं,१२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी बनेर शनिबार बिहान स्वदेश फर्कनुभएको छ।
स्वदेश र्फर्केपछि शनिबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही नभएकोले सबैले यसको मर्यादा गर्नुपर्ने बताउनुभयो ।
विमानस्थलमा गोविन्द केसीसँग प्रधानमन्त्रीले गरेको सम्झौताविपरीत संसदबाट चिकित्सा विधेयक पारित भएको बिषयमा सोधिएको प्रश्नमा उहाँले आवेश र उत्तेजनामा नआई देशको हितमा सोच्नुपर्ने उपदेश दिएर उम्किनुभयो ।
संसदमा विपक्षी दलको विरोधका वावजुत विधेयक पारित भएको विषयमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा यस्तो हुनु उधुम विषय नभएको प्रतिक्रिया दिनुभयो।
नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको विषयमा जारी गरेको वक्तव्यका विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले यसबारेमा बुझ्न बाँकी रहेको बताउनुभयो ।
स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित बैठकमा सहभागी बन्न प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।
प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा दुई सत्रलाई सम्बोधन गरेका गर्नुभएको थियो । ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विभिन्न देशका नेतासँग सामूहिक छलफलमा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र नेपाल सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिनुभएको थियो।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, सभामुख कृष्णबहादुर महरा लगायतले स्वागत गर्नुभएको थियो ।