बैंकक(थाईल्याण्ड),१५ फागुन । थाइल्याण्डको बैंककमा भएको आईसीसी महिला टी २० विश्वकप एशिया छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाली महिला टिमले कुवेतसामु ११७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी(एआईटी)को क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर ब्याटिड.को निम्तो पाएको थियो ।
निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै नेपालले ११६ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि बी रावलले सर्वाधिक २८ रन तयार पारिन । त्यसपछि आरसी बेल्वासेले २२ रन जुटाइन भने नेरी थापाले १९ र काजल श्रेष्ठले १८ रनको योगदान गरे । आई बर्मा र रोमा थापाले ७ । ७ रनको योगदान गरे भने सरिता राना र सरिता रानामगर दुवै खाता नखोलिकन आउट भए ।
बलिड.तर्फ कुवेतका मार्याम ओमार र प्रियम्दा मुरलीले २ । २ तथा अम्ना तारिक र मदिहा जुवेरीले एक एक विकेट लिए भने अम्ना तारिकको बलमा काजल श्रेष्ठ रन आउट हुँदा नेपालले थप एक विकेट गुमाएको थियो ।
प्रतियोगिता अन्तरगत मलेशिया र हंगकंगको खेल भैरहेको छ भने आजै मध्यान्हमा आयोजक थाइल्याण्ड र यूनाईटेड अरब इमिरेट्सका बीचमा खेल हुनेछ ।
कुवेतसंगको खेलमा नेपालले राम्रो अन्तरले जित्यो र थाइल्याण्डले यूएइसंग हार्यो भने नेपाल प्रतियोगिताको शीर्षमा रहदै आईसीसी महिला विश्वकप(एकदिवसीय) प्रतियोगिता २०२० छनौट र आईसीसी महिला टी २० विश्वकप २०१९ को छनोटमा खेल्न पाउनेछ ।
नेपाली महिला टीमलाई शीर्षमा रहेर आईसीसी टि- २० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० (एकदिवसीय) छनौट प्रतियोगिता खेल्न छनौट हुनका लागि आज प्रतिस्पर्धी टीम कुवेतलाई विशाल अन्तरले पराजित गर्नुको विकल्प छैन ।





















