काठमाडौं, २१ फागुन । क्रिकेट खेलाडी संघ नेपाल (सिपिएएन्) र नेशनल कलेज अफ कम्प्युटर स्टडिज(एनसिसिएस)को आयोजनामा आज पहिलो एनसिसिएस सिपिएएन् क्रिकेट अवार्ड वितरण हुँदै छ ।
राजधानीको रसियन कल्चर सेन्टरमा दिउँसो १ : ३० बजे आयोजना हुने सो कार्यक्रममा तीन विधामा खेलाडीहरुलाई पुरस्कृत र सम्मानित गरिदै छ ।
आयोजकहरुले यस बर्ष पुरस्कृत गरिने विधा र खेलाडीको चयन बुधबार नै सार्वजनिक गरिसकेका छन् । बर्ष खेलाडी पुरुष, बर्ष खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको लागि १५ खेलाडीको नाम सार्वजनिक भएको छ।
राष्ट्रिय टोलीका खेलाडीको बर्चस्व रहेको बर्ष खेलाडी पुरुषको मनोनयन तर्फ राष्ट्रिय टोलीका कप्तान पारस खड्कासंगै सन्दिप लामिछाने, करन केसी, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरी रहेका छन्।
यस्तै बर्ष खेलाडी महिला तर्फको मनोनयनमा महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीसंगै इन्दु बर्मा, करुना भण्डारी, सरिता मगर र सिता राना मगर रहेका छन्।
उदीयमान क्रिकेट खेलाडीको मनोनयनमा अभिनाश बोहरा, सन्दीप जोरा, ललित राजबंशी, रोहितकुमार पौडेल र कबिता कुँवर रहेका छन्।
वर्ष खेलाडी पुरुषले १ लाख ३२ हजार अन्य दुई विधाका विजेताले ६६ हजार प्राप्त गर्नेछन्।
यस बाहेक क्रिकेटसँग सम्बन्धित एक व्यक्तिगतलाई क्रिकेटमा पुर्याएको योगदानको आधारमा लाइफटाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने बताइएको छ ।
मनोनयन छनोट गर्नका लागि ७ सदस्यीय प्राविधिक छनोट समिति गठन गरि सो समितिले तयार गरेको मापदण्डका आधारमा खेलाडीहरुको मनोनयन सार्वजनिक गरिएको हो।
प्राविधिक समितिमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगतबहादुर टमाटा, महिला राष्ट्रिय टोली तथा यू१९ युवा टोलीका प्रशिक्षक बिनोद दास, अम्पाएर बिनयकुमार झा, अम्पाएर दुर्गानाथ सुबेदी, राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटी र नेपाल खेलकुद पत्रकार मंचबाट सुबाश हुमागाईं र सरिता श्रेष्ठ सम्मिलित हुनुहुन्थ्यो।


















