Prakash Adhikari October 24, 2026
न्युयोर्क, ७ कात्तिक (रासस/सिन्ह्वा): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गर्नुभएको छ । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ ।
ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार, क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङका लागि प्रयोग हुने केही क्रेट तथा बाकसमा अब ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने छैन ।
यसको विपरीत, क्यानाडाबाट आयात गरिने केही प्रकारका भल्भ, गलैँचा, फोहोरजन्य उत्पादन तथा अन्य निश्चित सामग्रीमा भने ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाइनेछ ।
घोषणापत्रअनुसार, अक्टोबर ३० वा त्यसपछि अमेरिकामा उपभोगका लागि आयात गरिने वा भण्डारणबाट उपभोगका लागि निकालिने वस्तुमा संशोधित व्यवस्था लागू हुनेछ ।
घोषणापत्रमा भन्सार महसुलको दायरामा गरिएको परिवर्तनले अमेरिकी वाणिज्य क्षेत्रमा परेको भार वा बेफाइदालाई सन्तुलनमा ल्याउने उल्लेख छ । साथै, यो कदम अमेरिकी हित र सार्वजनिक हितअनुकूल रहेको दाबी गरिएको छ ।
ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मोटरगाडी तथा तिनका पार्टपुर्जाको निर्यातमा गरेको भनिएको भेदभावपूर्ण र अनुचित व्यवहारको प्रतिक्रियास्वरूप अतिरिक्त भन्सार महसुल लगाइएको तर्क गरेको छ ।
यसअघि ट्रम्पले अगस्ट २२ मा क्यानाडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउनुभएको थियो ।
अमेरिकी कदमको जवाफमा क्यानाडाले पनि सोही बराबर मूल्यका अमेरिकी वस्तुमा भन्सार महसुल लगाएको थियो । क्यानाडाको उक्त प्रतिकारात्मक कदम सेप्टेम्बर ८ देखि लागू भएको थियो ।
दुवै देशबीचको भन्सार विवादले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ ।
Share Now