काठमाडौं, २१ फागुन । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानले नेपाली क्रिकेटर अफ द इयरको उपाधि जितेका छन् । त्यस्तै महिला तर्फको नेपाली वुमन क्रिकेटर अफ द इयरको उपाधि सिता राना मगरले जितेकी छन् ।
क्रिकेट खेलाडी संघ नेपाल (सिपिएएन) र नेशनल कलेज अफ कम्प्युटर स्टडिज(एनसिसिएस)को संयुक्त आयोजनामा मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उनीहरुलाई सो उपाधिसहित रु. १ लाख ३२ हजार नगद पुरस्कारले सम्मानित गरिएको थियो ।
प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सन्दीपका लागि नेपाली राष्टिय क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई सो सम्मान प्रदान गरेका थिए । बर्षका सर्वोत्कृष्ट खेलाडी घोषित सन्दीप लामिछाने अहिले पाकिस्तानको घरेलु लिग अन्तरगतको पाकिस्तान सुपर लिगमा लाहोर क्वालान्दर्सका तर्फबाट युनाइटेड अरब इमिरेट्समा खेलिरहेका छन् । आज उनको टिमले पेशावर जाल्मीसंग प्रतिस्पर्धा गर्दैछ ।
विगत एक बर्षमा सन्दीप लामिछानेले घरेलु मात्र होइन अन्तराष्ट्रिय लिगमा पनि उधूम मच्चाएका छन । उनले गत बर्ष कुल ३२ खेल ८४ विकेट लिएका थिए । सन्दीपले मनोनयनमा परेका दिपेन्द्र ऐरी, करण केसी, सोमपाल कामी, पारस खड्कालाई पछि पारेका थिए ।
बर्षका उत्कृष्ट महिला क्रिकेटरको उपाधि जितेकी सिता राना मगरलाई नेपाल क्रिकेट एशोसिएसनका पूर्व अध्यक्ष विनयराज पाण्डेले सम्मान प्रदान गरेका थिए । उनले मनोनयनमा परेका इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री र सरिता मगरलाई पछि पारीन । हालै थाइल्याण्डमा भएको आइसीसी टी–२० महिला विश्वकप छनोटमा सिताको उत्कृष्ट प्रर्दशन गर्दै १ सय ३८ रन बनाएकी थिइन ।
नेपाली क्रिकेटमा यो बर्षमा भएको ‘मोमेन्ट अफ द इयर’को अवार्ड करण केसीले जितेका छन ।
नामिवियामा क्यानडा विरुद्ध भएको खेलमा हारको डिलमा पुगेको टिमलाई जिततर्फ डोर्याउदै जिताउन महत्वपूर्ण योगदान दिएका थिए । अलराउण्डका रुपमा टिमका सदस्य रहेका करणले पारस खड्का, दिपेन्द्र ऐरी, सोमपाल कामी, सन्दिप जोरा, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेलाई पछि पारे ।
अनलाईन भोटिङका आधारमा विजेताको घोषणा गरिएको हो । यो विधामा कुल १० खेलाडीलाई मनोनयनमा राखिएको थियो ।उनलाई वरिष्ठ नेपाली कलाकार हरिवंश आचार्यले सम्मानित गरेका थिए ।
यस्तै बर्षको उत्कृष्ट उदयीमान खेलाडीको अवार्ड रोहितकुमार पोडलेले जितेका छन् ।
रोहितकुमार पौडेलले ललित राजवंशी, अभिनाश बोहरा, कविता कुवँर, सन्दीप जोरालाई पछि पारे । नेपालले युएई विरुद्धको टी–२० र एकदिवसिय सिरीज जित्दा टिमको सदस्य रहेका रोहित नेपालका लागि भरपर्दा खेलाडीका रुपमा गनिएका छन । एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमा उनकै नाममा रहेको छ । नेदरल्याण्ड्स विरुद्धको सिरिजमा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यर गरेको रोहितले तीन वटा एकदिवसीय खेलमा ७० रन बनाएका छन । जसमा उनको एक अर्धशतक रहेको छ । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ हात पारेका छन ।
यस्तै नेपाली क्रिकेट खेलकालागि आफ्नो जीवन ब्यतित गरेका कोमलबहादुर पाण्डेलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरियो । नेपाली क्रिकेट र फुटबल दुबैमा खेलाडी जीवन विताएका पाण्डेले निकै लामो समय कीर्तिपुर क्रिकेट मैदानको क्युरेटरको काम गरेका थिए । नेपाली क्रिकेटमा खेलाडी मात्र होइन, टेक्निकल पक्षमा अब्बल ज्ञान भएका पाण्डेले नेपालको क्रिकेट योगदान गरेका छन । उनले सम्मानसँगै ६६ हजार रुपैयाँ पाए ।