Prakash Adhikari December 26, 2017

कीर्तिपुर(काठमाडौं),११ पौष। एभरेष्ट प्रिमियर लिगमा मंगलबार भएका लिग चरणका अन्तिम खेलमा भैरहवा ग्लाडियटर्सले चितवन टाईगर्स र ललितपुर प्याटियोर्टले पोखरा राइनोजलाई पराजित गरेका छन् ।

मंगलबार सम्पन्न खेलमा भैरहवा ग्लाडिएटर्ससँग चितवन टाइगर्स ४ विकेटले पराजित भएको छ । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ८७ रन मात्र बनाउन सक्यो । चितवनका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान १५–१५ रन बनाए ।

उता जवाफी ब्याटिङका लागि उत्रिएको भैरहवाले पनि लक्ष्य भेट्टाउन संघर्ष गर्नुपर्यो र निर्धारित लक्ष्य १८.३ ओभर खेल्दै ६ विकेट गुमाएर ८८ रनमा भेट्टायो । भैरहवाका लागि पुनित मिश्रले सर्वाधिक ३० रन बनाए । त्यस्तै रोहित कुमार पौडेलले २० रनको योगदान दिए ।

खेलमा चितवनविरुद्ध ४ ओभर बलिङ गर्दै एक मेडन राखेर १२ रन खर्चिदै ३ विकेट लिएका भैरहवाका कप्तान शरद भेषवाकर प्लेयर अफ द म्याच घोषित भए ।

ललितपुरद्वारा पोखरा पराजित

लिग चरणको अन्तिम खेलमा ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई अन्तिम बलमा ६ विकेटले पराजित गरेको छ । यो सँगै ५ खेलबाट समान ४ अंक बटुल्दै दुवै टोलीले अंकतालिकामा तेस्रो र चौथो स्थान हासिल गरी प्लेअफको यात्रा तय गरेका छन् ।

आज भएको दोश्रो खेलमा ललितपुर प्याट्रीयट्सले पोखरा राइनोज दिएको १३३ रनको लक्ष्य मात्र ४ विकेट गुमाएर अन्तिम बलमा पुरा गरेको थियो । उसका लागि जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गर्ने क्रममा ५६ रन बनाए । ४५ बल खेलेका उनले ३ छक्का र ४ चौका प्रहार गर्दै पहिलो विकेटको लागि शंकर रानासँग मिलेर ८४ रनको साझेदारी गरे । शंकर रानाले ३५ रन बनाउन ३९ बलमा ५ चौका प्रहार गरे ।

कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ८४ रनको साझेदारी गरेका थिए । त्यसपछि आएका कुशल भुर्तेलले ४ बलमा १ चौका सहित मात्र ५ रन बनाउदै पेभेलियनको यात्रा गरे । दिपेश भण्डारीले पनि १४ बलमा ८ रन मात्र बनाउन सके । कप्तान ज्ञानेन्द्र मल्ल १७ बलमा २७ रन मा अविजित रहे, उनले जितका लागि अन्तिम बलमा एक रन आबश्यक रहेको अवस्थामा छक्का प्रहार गर्दै खेल जिताए ।

पोखराको लागि बलिंगतर्फ इस्रार उल्लाहले २६ रन खर्चेर २ विकेट लिदा शक्ति गौचन र सुशन भारीले १/१ विकेट लिए ।

म्यान अफ द म्याच जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गरेका थिए । यसअघि पहिले ब्याटिंग गरेको पोखराले ओपनर सुनिल धमलाले अविजित ७० रनको पारि खेलेपछि २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो । धमलाले नेपाली ब्याट्सम्यानको प्रतियोगितामा सर्बाधिक रन बनाउने क्रममा ६२ बलमा ५ छक्का र २ चौका प्रहार गरे ।

त्यस्तै राजेश पुलामी मगरले ३१ रन बनाउन ३२ बलमा १ छक्क र २ चौका प्रहार गर्दा बिनोद भण्डारीले पनि १२ रन बनाउन ७ बलमा २ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन नसकेको अवस्थामा १० रन अतिरिक्त पायो ।

बलिंगतर्फ ललितपुरका लागि दिपेश भण्डारी, रसिद खान, ललित राजबंशी र सन्दिप लामिछानेले समान १र१ विकेट हात पारे ।

अर्धशतक प्रहार गर्दै ललितपुरलाई राम्रो सुरुवात दिलाएका जयकिशन कोल्सावाला म्यान अफ द म्याच घोषित भए ।

राजेश पुलामी र सुनिल धमलाले अर्धशतक साझेदारी गरेका थिए

दुवै टोली भोली हुने ईलिमिनेटरमा एक अर्का बिरुद्द पुनः प्रतिस्पर्धा गर्नेछन् ।

बिराटनगरले लिग चरणका सम्पूर्ण खेलहरु जित्दै तथा भैरहवाले एक खेलमात्र हार्दै प्ले-अफमा आफ्नो स्थान सुरक्षित गरेका छन्। पहिलो क्वालिफायर भैरहवा र बिराटनगरबीच भोलि बिहान हुनेछ।

मंगलबार नेपाली क्रिकेटको लागि खेलाडी, प्रशिक्षक तथा अम्पायरको रुपमा लामो समयदेखि योगदान दिएका श्रीष उपाध्यायलाई नगद रु २५,००० र मायाको चिनोले सम्मान गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

Share Now

Leave a comment.