Prakash Adhikari December 26, 2017

शितलनिवास(काठमाडौँ), ११ पौष ।राष्ट्रिय सभा सदस्यसम्बन्धी अध्यादेश जारी गर्ने वा नगर्ने सम्बन्धमा निर्णयमा पुग्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मधेश केन्द्रित राष्ट्रिय जनता पार्टीका नेताहरुसंग सामुहिक परामर्श गरेकी छन् ।

राजपाका ५ जना नेतालाई भण्डारीले शितल निवासमा बोलाई अध्यादेश र अन्य समसामयिक विषयमा छलफल गरेकी हुन् ।

भेटमा राजपा अध्यक्ष मण्डलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महत्तो, राजकिशोर यादव, शरदसिंह भण्डारी र अनिल झा सहभागी थिए ।
भेटमा राजपाका नेताहरुले राष्ट्रिय सभा सदस्यसम्बन्धी अध्यादेश जारी गर्न अनुरोध गरेका थिए । उनीहरुले संवैधानिक अधिकार प्रयोग गर्दा राष्ट्रपति विवादमा पर्न नहुने भन्दै अध्यादेश रोक्न नमिल्ने तर्क दिए । ‘राजपा नेताहरुले राष्ट्रियसभा सम्बन्धी अध्यादेश रोकिंदा अहिलेको संक्रमणकाल अन्त्य गर्न ढिलाई हुने यथार्थप्रति राष्ट्रपति भण्डारीको ध्यानाकर्षण पनि गराएका थिए ।

उनीहरुले संवैधानिक राष्ट्रपति संविधान र विश्वका मान्य परम्परा अनुरुप चल्नुपर्ने बताउदै नयाँ सरकारको गठन पनि संविधान बाहिरबाट हुन नसक्ने भएकोले यसप्रति राष्ट्रपतिको ध्यान जानुपर्ने बताएका थिए ।

नेताहरुले राजनीतिक स्थायीत्वका लागि सबै जिम्मेवार हुनुपर्ने, जनताको म्याण्डेटबाट बाहिर जान नहुने भन्दै नयाँ सरकार गठन प्रक्रियाका लागि कानुनको अभाव रहेको धारणा राखेका थिए ।

राष्ट्रपति भण्डारीले भने मधेश केन्द्रित नेताहरु चुनावमा सहभागी भई विजयी बनेकोमा हर्षित हुदै बधाई प्रकट गरेकी थिइन ।

‘उनले हाल देखिएको राजनीतिक गतिरोध अन्तका लागि दलहरुले धैर्यतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वास प्रकट गरेकी थिइन ।

Share Now

Leave a comment.