नयाँ दिल्ली(भारत),२६ फागुन । भारतमा आगामी अप्रिल ११ देखि १७ औं लोकसभाको निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर सो कुराको घोषणा गरेको हो ।
यस पटक भारतमा ७ चरणमा निर्वाचन हुनेछ ।
दोस्रो चरणको निर्वाचन, १८ अप्रिल, तेस्रो २३ अप्रिल, चौथो २९ अप्रिल,पाचौ ६ मे ,छैठौं १२ मे र सातौ चरणको निर्वाचन १९ मे मा हुनेछ ।
सबै चरणको निर्वाचन सकिए पछि २३ मे देखि निर्वाचनको मतगणना हुनेछ ।

आजैदेखि निर्वाचन आचार संहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।
भारतको निर्वाचन आयोगले अहिले बालिग मतदाताको संख्या ९० करोड पुगेको जनाएको छ । त्यसमध्ये १ करोड ५० लाख १८ देखि १९ बर्षका नयाँ मतदाता थपिएका छन् ।
भारतको १६ औं लोकसभाको म्याद ३ जुनमा सकिदैछ ।
भारतको संविधान अनुसार तल्लो सदनमा ५ सय ४५ सदस्यीय छ । यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ ।
नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिश्पर्धा हुने देखिएको छ । उनीहरुको बाहेक देशभरी सयभन्दा बढी पार्टीहरु पनि प्रतिश्पर्धामा रहने अधिकारीहरुले बताएका छन् ।
यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा) का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
हिन्दु राष्ट्रवादी मुद्धा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाईलगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउने गरिएको छ ।
भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली परिवारको रुपमा रहेको गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिश्पर्धा रोचक हुने भारत सञ्चार माध्यमहरुले लेखेका छन् ।–एएफपी


















