आदिस अबाबा (इथियोपिया),२६ फागुन(बीबीसी) । । इथियोपियको आदिस अबाबाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।
एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ।
उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका छन्।
एयरलाइन्सका अनुसार विमानमा विभिन्न ३३ मुलुकका यात्री थिए।

दुर्घटनामा भएको हताहतीबारे एयरलाइन्सले केही उल्लेख गरेको छैन।
यसअघि एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, “दुर्घटनास्थलमा एथियोपियन एयरलाइन्सका कर्मचारीलाई पठाइनेछ र आपत्कालीन सहायताका लागि सम्भावित सबै सहयोग गरिनेछ।”
The Office of the PM, on behalf of the Government and people of Ethiopia, would like to express it’s deepest condolences to the families of those that have lost their loved ones on Ethiopian Airlines Boeing 737 on regular scheduled flight to Nairobi, Kenya this morning.
— Office of the Prime Minister – Ethiopia (@PMEthiopia) March 10, 2019
“दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।
अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो।
सुरक्षाको दृष्टिकोणले सो एयरलाइन्सको राम्रो पहिचान छ।
यद्यपि सन् २०१० मा बेरुतबाट उडेको सो एयरलाइन्सको एउटा विमान भूमध्यसागरमा खसेको थियो।
उक्त दुर्घटनामा ९० जनाको ज्यान गएको थियो।
सो एयरलाइन्ससँग जोडिएको सबैभन्दा ठूलो हताहतीको घटना सन् १९९६ को नोभेम्बरमा भएको थियो।
आदिस अबाबादेखि नाइरोबीका लागि उडेको विमानको एउटा इन्जिनमा इन्धन सकेपछि काम गर्न छाडेको थियो।
पाइलटहरूले पानीमा आपत्कालीन अवतरण गराउँदा हिन्द महासागरमा मुगाको टापुमा ठोक्किन पुग्दा विमानमा भएका १७५ जनामध्ये १२३ जनाको ज्यान गएको थियो।


















