Prakash Adhikari March 29, 2019

 

काराकास(भेनेजुयला),१५ चैत्र (बीबीसी) । गत साता मात्रै ग्वाइदोका प्रमुख सहयोगी रोबर्टो मर्रेरो (बायाँ) लाई योजनाबद्ध रूपमा विध्वंश मच्चाएको आरोपमा पक्राउ गरिएको थियो।

भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदोमाथि १५ वर्षसम्म सार्वजनिक पद धारण गर्न रोक लगाइएको त्यहाँका महालेखापरीक्षकले बताएका छन्।

एल्भिस अमोरोसोले ग्वाइदोको आर्थिक विवरणहरू अस्वभाविक देखिएको भन्दै सरकारी निर्णयको बचाउ गरेका छन्। त्यस्तो प्रतिबन्ध भेनेजुएलाको कानुनी व्यवस्था अनुसार सबैभन्दा बढी हो।

ग्वाइदोले गत ज्यानुअरीमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेसँगै अमेरिकासहितका ५० बढी देशले उनलाई मान्यता दिएका थिए।

जसले गर्दा त्यहाँ राजनीतिक र मानवीय सङ्‍कट चुलिएको थियो।

ग्वाइदोले के भने?

ग्वाइदोले निर्णयप्रति प्रतिक्रिया जनाउँदै एल्भिस अमोरोसो महालेखापरीक्षक नै नभएको बताएका थिए।

उनले आधिकारिक राष्ट्रिय परिषद्सँग मात्र महालेखापरीक्षक नियुक्त गर्न सक्ने शक्ति हुने बताउँदै उक्त निर्णयलाई आफूले अस्वीकार गरेको बताएका छन्।

कराकासमा रहेका बिबिसी संवाददाता विल ग्रान्ट भन्छन्- “यसलाई गत महिना सुरु भएको भनिएको अनुसन्धानको निर्णय बताइए पनि त्यसले कुनै आश्चर्य भने सृजना गरेको छैन। यो मदुरो सरकारको पुरानै शैली हो।”

भेनेजुएला
गत साता मात्रै ग्वाइदोका एकजना प्रमुख सहयोगी रोबर्टो मर्रेरोलाई योजनावद्ध रूपमा विध्वंस मच्चाएको आरोपमा पक्राउ गरिएको थियो।

उनको घरमा छापा मारिदा हतियार र थुप्रै विदेशी मुद्रा भेटिएको आरोप उनीमाथि थियो।

घटनाक्रम

मदुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्छन्।

ग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रप्रमुख घोषणा गरेसँगै उनको सम्पत्ति रोक्का गरिनुका साथै देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो।

तर उनी त्यसलाई उल्लङ्‍घन गर्दै मानवीय सहायता भित्र्याउन र अन्दोलनका लागि समर्थन जुटाउन भन्दै ल्याटिन अमेरिकी देशको भ्रमणमा गएका थिए।

त्यहाँ राजनीतिक सङ्‍कट गहिरी रहँदा हालै रुसले त्यहाँ सैन्य विमानहरु पठाएपछि त्यसमा प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले ‘रुस भेनेजुएलाबाट निस्कनुपर्ने’ बताएका थिए।

रुसको विदेश मन्त्रालयकी प्रवक्ताले त्यसलाई ‘अन्तर्राष्ट्रिय स्तरमा असभ्यता प्रदर्शन गरेको’ बताएकी थिइन्।

भेनेजुएला
के हो भेनेजुएला सङ्‍कट?

भेनेजुएलामा सङ्‍कट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्‍यान्न र औषधिको खोजीमा देश छाडेको राष्ट्रसङ्घीय शरणार्थी नियोगले बताएको छ।

त्यहाँको महँगी धेरै गुणा बढेको छ। जसका कारण पेट्रोलियम पदार्थमा धनी देश भएर पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ।

तर मदुरोले आफ्नो देशमा सङ्‍कट रहेको स्वीकारेका छैनन् र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्।

मदुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देशहरू छन्।

आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित ५० भन्दा बढीले मान्यता दिएका छन्।

Share Now

Leave a comment.