Prakash Adhikari March 29, 2019

 

काठमाडौं, १५ चैत्र। नेपालमा राजनीतिक स्थिरता कायम हुनुको साथै लगानीको लागि अनुकूल वातावरण बनेको भन्दै सरकारले विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्न आयोजना गरेको बहुप्रतिक्षित लगानी सम्मेलन २०७५ काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ ।

सम्मेलनको समुद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

आफ्नो समुद्घाटन भाषणमा प्रधानमन्त्री के पी ओलीले नेपाल लगानीका लागि कौमार्यभूमि(भर्जिन ल्याण्ड) भएकोले निर्धक्क लगानी गरि नाफा लैजान अनुरोध गर्नुभयो ।

‘नेपाल लगानीका हिसाबले भर्जिन ल्याण्ड हो, हामीले लगानी सम्मेलनका लागि ७७ वटा आयोजनाहरु तयार पारेका छौं, तपाईंहरुले जुन आयोजनामा लगानी गरे पनि हुन्छ,’ उहाँले भन्नुभयो सरकार र निजी क्षेत्रले विकासको लागि तयार पारेका यी कुनै पनि आयोजनामा लगानी गरेर तपाईंहरुले कमाएको नाफा विदेश लान पाउनुहुने छ ।’

आफूले नेतृत्व गरेको सरकारसँग विकासको स्पष्ट परिकल्पना र कार्यक्रम रहेको बताउदै त्यसलाई कार्यान्वयन गर्न बैदेशिक लगानी अपरिहार्य भएको बताउनुभयो । उहाँले विकासको लागि वैदेशिक लगानी अनिवार्य रहेको पनि उल्लेख गर्नुभयो ।

‘लगानीबिना कुनैपनि देशको विकास हुँदैन, हामीले लगानी भित्र्याउनका लागि यसैवर्ष मात्रै ठूलो नीतिगत सुधारको काम गरेका छौं,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘स्थिर सरकार छ, देशको विकास गर्न चाहन्छ, यो अवस्था लगानीकर्ताका लागि पनि सुखद हो ।’

आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले व्यवसायिक अर्गानिक कृषिका लागि नेपाल भर्जिन ल्याण्ड भएको उल्लेख गर्दै क्रस बोर्डर ट्रान्समिशनलाइ निर्माणको चरणमा रहेकाले उर्जा क्षेत्रमा लगानीको ठूलो संभावना भएको बताउनुभयो ।

प्रधानमन्त्रीले अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा नेपालले निर्यातमा पाएको भन्सार सुविधाबाट पनि लगानीकर्ताले फाइदा लिनसक्ने तर्क राख्नुभयो ।

लगानी सम्मेलनमा भाग लिन विभिन्न ४० देशका ६ सय प्रतिनिधि काठमाडौंमा छन् । उद्घाट्न शत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ता, नीति निर्माता, नीति विश्लेषक, प्राविधिक, वक्ता, कार्यक्रमका सहजकर्ता र सञ्चारकर्मी गरि एक हजार भन्दा बढीको सहभागिता रहेको छ ।

विश्वभरका लगानीकर्तालाई आकर्षित गर्न सरकार ५० र निजी क्षेत्रका २७ गरि ७७ वटा आयोजना तयार गरेर लगानीकर्ता सामु प्रस्तुत गरिएको छ, जसको अनुमानित लागत करीब ३० देखि ३५ खर्ब रुपैयाँ अनुमानित गरिएको छ ।

लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि लगानीका हिसाबले नेपाल ठूलो संभावना भएकोले लगानी गरेर लाभ लिन विश्व लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उद्घाटन शत्रमै पूर्व अर्थमन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महत, म्यानमारका लगानी र वैदेशिक आर्थिक मामिला संघीय मन्त्री उ थाउन तून, विश्व बैंकका उपाध्यक्ष हार्टविड. सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिछिन चेन, मेनहार्ट ग्रुपका कार्यकारी अध्यक्ष शाहाजाद नसिम र दी मुथुत ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुतले पनि उद्घाटन समारोहलाई सम्वोधन गर्नुभएको थियो ।

Image may contain: 1 person, standing and suit

सम्मेलनको उद्घाटन शत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसमेतले सहभागी र आमन्त्रित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सम्मेलनका अबका शत्रमा लगानीका लागि छुट्टयाईका विभिन्न विषयगत क्षेत्रहरुको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुति, प्यानल डिस्कसन र प्रश्नोत्तर हुनेछ ।

लगानीकर्ताहरुले आफूलाई इच्छा लागेको र सरकार तथा निजी क्षेत्रले लगानीका लागि प्रस्तुत गरेका आयोजनामा लगानीका सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर समेत गर्न सक्नेछन् ।

लगानी बोर्डले लगानीका समझदारी पत्रमा हस्ताक्षर गर्नका लागि सचिवालय सेवा उपलब्ध गराउने बताएको छ ।

आज र भोलि चल्ने लगानी सम्मेलनमा भएका उपलब्धिहरुको बारेमा अन्तिम दिन भोलि जानकारी दिइने बताइएको छ ।

 

Share Now

Leave a comment.