काठमाडौ. १५ चैत्र । आजदेखि दुई फिल्म ‘साइँली’ र ‘शुभ लभ’ एकसाथ नेपाली दर्शकहरुको माझ आएका छन् ।
खडेरी लागेको नेपाली फिल्मको व्यापार यी दुई फिल्मले केही हदसम्म भए पनि चलायमान बनाउने विश्वास फिल्मकर्मीमा छ । दुई फिल्मको प्रतिक्षा दर्शकलाई लामो समयदेखि थियो ।
गायक हेमन्त रानाद्वारा स्वरबद्ध चर्चित गीत ‘साइँली’ को नाममा निर्माण गरिएको फिल्मलाई कबड्डीका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । माटो सुहाउँदो फिल्म बनाउने निर्देशकको रुपमा परिचित रामबाबुका फिल्म प्रायः समाज केन्द्रित हुन्छन् । यसकारण पनि फिल्म हेरिरहँदा धेरैले आफ्नै कथा महशुस गर्दछन् ।
परिवारलाई खुसी दिन परदेशिएका श्रीमान र उनलाई गाउँमा कुरेर बसेकी श्रीमतीबीचको मार्मिक कथा ‘साइँली’ गीतमा उठाइएको थियो । फिल्मले पनि देशको प्रमुख समस्याको रुपमा रहेको बैदेशिक रोजगारीकै कथा भनेको छ । एउटा युवक कसरी धन कमाउनका लागि विदेशिन बाध्य हुन्छ ? भन्ने फिल्ममा देखाइएको छ ।
फिल्मको ट्रेलरले नै धेरैको ध्यान खिचेको थियो ।
फिल्मप्रति दर्शकको चासोलाई मध्यनजर गर्दै मल्टिप्लेक्सहरुले फिल्मलाई उच्च सो प्रदान गरेका छन् । सिंगल स्क्रिन पनि फिल्मले पर्याप्त पाएको छ । फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने विश्वास गरिएको छ ।
फिल्ममा ‘साइँली’ गीतको भिडियोमा अभिनय गरेर आम दर्शकमाझ चिनिएका गौरव पहारी र मेनुका प्रधान नै लिड रोलमा छन् । अभिनेता दयाहाङ राईको पनि यसमा अभिनय छ ।
यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस फिल्मबाट केनिपा सिंहले डेब्यू गरेकी छन् । यसमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको छ ।
यस्तै, फिल्म ‘शुभ लभ’ बाट चर्चित युवा ज्योतिष हरिहर अधिकारीले अभिनय यात्राको शुभारम्भ गरेका छन् ।
फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । यसमा हरिहर र नव अभिनेत्री क्रिस्टिन पौडेलसँग मुख्य भूमिकामा छन् । फिल्ममा उनी रियलझैँ ज्योतिषकै भूमिकामा छन् । फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् भने फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी छ । उक्त फिल्ममा डाक्टर सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारको पनि अभिनय छ ।