Prakash Adhikari March 29, 2019

काठमाडौं,१५ चैत । बिहिबार विज्ञान र शुक्रबार सामाजिक बिषयको प्रश्नपत्र प्रदेश २ मा परीक्षा सुरुहुनु अगावै बाहिरिएपछि संघीय सरकारले हाल भैरहेको माध्यमिक शिक्षा परीक्षा(एसईई) परीक्षाको बाँकी बिषयको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले राष्टिय परीक्षा बोर्डलाई प्रदेश २ का बाँकी परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।

मुलुक संघीय शासन व्यवस्था अन्तरगत प्रादेशिक संरचनामा गएर प्रदेश संसद र प्रदेश सरकार गठन भएकोले सरकारले यस बर्षको विद्यालय शिक्षा परीक्षा(एसईई) प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालन गर्ने प्रबन्ध गरेको थियो ।

परीक्षा नियन्त्रण बोर्डले हरेक प्रदेशका लागि प्रश्न पत्रहरुको अलग अलग सेट तयार पारेकोले अन्य प्रदेशका परीक्षाहरु भने यथावत चल्नेछन् ।

लगातार दुई दिनको प्रश्नपत्र आउट भएको र परीक्षा रद्द भएकोले प्रदेश नं २ का एसईईका परीक्षार्थीहरु आक्रोशित भएर सडक प्रदर्शनमा उत्रिएका थिए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्थगित परीक्षा यसै महिनाभित्र सम्पन्न हुने गरी तालिका प्रकाशित गर्ने बताउनु भएको छ ।

माध्यमिक परीक्षा बोर्डले बिहीबार रद्द भएको विज्ञान विषयको परीक्षा २२ गतेका गर्निे निर्णय सार्वजनिक गरिसकेको छ । यसैले स्थगित भएका बाँकी विषयका परीक्षा पनि २२ गते पछि नियमित हुने विश्वास गरिएको छ ।

आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो ।

मंगलबार छुट्टी थियो भने बुधबार गणित विषयको परीक्षा सकियो ।

बिहीबार विज्ञानको परीक्षा दिइसकेपछि रद्द भयो भने शुक्रबार सामाजिक विषयको परीक्षा नै भएन ।

लगातार प्रश्नपत्र बाहिरिएपछि सबै प्रश्नपत्र बाहिरिएको आशंकामा अनुसन्धान भइरहेको छ ।

शिक्षा मन्त्रालयकाअनुसार अंग्रेजी, नेपाली र गणितको परीक्षा भने रद्द हुने छैन ।

प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५ सय ६८ जना विद्यार्थी छन् भने २ सय ६२ परीक्षा केन्द्र तोकिएको छ ।

एसईईको प्रश्नपत्र माध्यमिक शिक्षा परिषद्ले तयार पार्छ र तीन वटा सुरक्षा घेरामा जनक शिक्षाको प्रेसमा छपाई हुन्छ । यसरी तयार भएको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको करिव १५ दिन अगाडि जिल्ला प्रहरी कार्यालय लगेर सुरक्षित राखिन्छ ।

परीक्षा हुनुभन्दा तीन दिनअगाडि नजिकको प्रहरी चौकीमा लगेर राखिन्छ र परीक्षा हुनु एक घन्टा अगाडि मात्र केन्द्राध्यक्षले प्रश्नपत्र बुझ्छन् र सुरक्षा घेरामा लैजान्छन् ।

‘यतिधेरै सुरक्षाका बीच प्रश्नपत्र बाहिरिनु गम्भीर घटनाको रुपमा लिदैं शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले छानविन गरी सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Share Now

Leave a comment.