काठमाडौं, २१ चैत्र । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको उड्नको लागि ठिक्क परेको जहाज मंगलबार राती काठमाडौंमै रोकिएपछि त्यसको छानबिन गर्न सरकारले समिति बनाएको छ।
सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
पर्यटन मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राज्यमन्त्रीस्तरीय निर्णयबाट उक्त समिति गठन गरिएको हो।
उडान रद्द हुँदा राष्ट्रिय ध्वजाबाहक निगमको साख गिरेको,यात्रुले अनावश्यक दुःख पाएको भन्दै सरकारले सत्यतथ्य पत्ता लगाई दोषी भेटिए कारबाहीको सिफारिस गर्न जिम्मेवारी दिएर समिति बनाएको हो।
समितिलाई भविष्यमा यस्तो अवस्था आउन नदिन गर्नुपर्ने सुधारका सुझाव दिनका लागि पाँचदिनको समयसीमा दिइएको छ ।
यात्रुहरुलाई जहाजमा बोर्ड गरेर जहाज ट्याक्सी वेमा पुगेपछि मंगलबार राति विमानस्थलले निगमको उडान रोक्न निर्देशन दिएको थियो।
निगमको जहाजको उडान समय २१ :३५ निर्धारित थियो तर निगमको जहाजभन्दा पहिले उडान तालिकामा परेका जहाज सो समयसम्म उड्न नसकेपछि जहाज २२:०० बजेसम्म उड्न पाएन ।
‘ट्याक्सी वे मा पुगेको विमानलाई रनवे लगेर उडाउन ४ मिनेट समय माग गर्दा पनि निगमले समय नपाएको दावी निगमका प्रवक्ता क्याप्टेन विजय लामाले गर्नुभएको छ ।
कन्ट्रेल टावरले उडान अनुमति नदिएपछि निगमका उडान कर्मचारीले यात्रुलाई जहाजबाट झर्ने आग्रह गरेपछि यात्रुहरुले जसरी पनि उडाउनु पर्ने माग राख्दै विद्रोह गरेका थिए ।
‘क्याबिन क्रुको आग्रह पछि ९७ जना यात्रु झर्न तयार तर अरु जहाजमै बसे । उनीहरुलाई बल प्रयोग गरेर भए बिहान पाँच बजे जहाजबाट झारियो।
यो घटनापछि निगमले नागरिक उड्डयन प्राधिकरणलाई राष्ट्रिय ध्वजाबाहकलाई धराशायी बनाउने र साख गिराउने गिरोहको इशारामा चलेको आरोप लगाएको छ भने प्राधिकरणले निगमको व्यवस्थापनलाई झल्लु भएको दोषारोपण गरेको छ । १० बजेदेखि रन वे बन्द हुन्छ भन्ने जानकारी हुँदा पनि समयमा जहाज उडाउने प्रयास नगरेको आरोप प्राधिकरणले निगम व्यवस्थापनलाई लगाएको छ ।