Prakash Adhikari April 8, 2019

 

काठमाडौं,२५ चैत्र। जन्मका आधारमा नागरिकता लिनेको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको परिपत्रलाई यथास्थितिमा राख्न सोमबार आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएकोले कार्यान्वयन गर्न पत्राचार गरेको थियो ।

कतिपय जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण गर्न थालेको खबरहरु सार्वजनिक भएका थिए ।

गृह मन्त्रालयको सो परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पत्र यथास्थितिमा राख्न र मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको छ ।

Share Now

Leave a comment.