काठमाडौं, १ बैशाख । शुक्रवारबाट प्रदर्शनमा आएको नायक अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा नायिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ ।
शुक्रबार राम्रो सुरुआत गरेको फिल्मले शनिबार पनि दर्शकको उस्तै माया पाएको छ ।
वितरक मनोज राठीले फिल्मले पहिलो दिनको तुलनामा शनिबार तेब्बर राम्रो व्यापार गरेको बताउनुभएको छ ।
शनिबार बिहानैदेखि सिंगल स्क्रिन र मल्टिप्लेक्सहरुका दर्शक भरिभराउ थिए । राजधानी र मोफसलका सबै हल हाउसफुल रहे।
प्रदर्शनको पहिलो दिन न्यून सोज पाएको फिल्मले दुई दिनको आक्रामक व्यापारका कारण आइतबारबाट राजधानीका मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ ।
फिल्मले शनिबार मात्र करोडमाथि विजनेश गर्ने अनुमान गरिएको छ ।
‘ए मेरो हजुर ३’ को दुई दिने व्यापारले निर्माताको करीब आधा लगानी सुरक्षित भइसकेको बताइएको छ । शुक्रबार र शनिबारकै अनुपातमा आइतबार र सोमबार पनि फिल्मले आक्रामक व्यापार गरे निर्माताको लगानी सुरक्षित हुनेछ । त्यसपछि फिल्मले नाफा गर्नेछ ।
निर्माता सुनिकुमार थापा र निर्देशक झरना थापा दर्शकको उत्साहजनक उपस्थितिले खुसी हुुनुभएको छ।
दर्शकको प्रतिक्रिया बुझ्ना शनिबार बिहान राजधानीका केही हलमा निस्केका नायक अनमोल,नायिका सुहाना र झरना प्रशंसकहरुको घेरामा परेका थिए । १० बजे अष्टनारायण र दिउँसो १ बजे गोपीकृष्ण हल पुग्दा दर्शकको थामिनसक्नुको भीड देखिएको थियो । दर्शकहरु चर्को घामको पर्वाह नगरिकन घन्टौंदेखि टिकट लिन लाइन बसेका थिए ।
अष्ट र गोपी हलको आँगनमा हजारौं दर्शकले अनमोल र सुहानालाई काँधमा राखेर बोकेका थिए । दुबैले दर्शकलाई धन्यवाद दिँदै फिल्ममा समावेश गीत पनि गाएर सुनाए । हलमा अनमोलसँगै सुहानाको क्रेज पनि गजब देखिएको थियो ।
अनमोललाई देखेपछि चिच्याउने र रुने युवतीहरु यसपटक पनि उतिक्कै भेटिए ।
फिल्म हेर्ने दर्शक र समीक्षकहरुले अभिनेत्री सुहानाको तारिफ गरेका छन् । उनलाई अबको स्टारको रुपमा हेरिएको छ ।
फिल्ममा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, रेअर राईलगायतका कलाकारहरुको अभिनय छ । निर्माण टिमको फिल्मको विकेन्ड कलेक्सन सार्वजनिक गर्ने तयारी छ ।
फिल्ममा एक स्टार र फ्यानको प्रेमकथामा बुनिएको छ ।