Prakash Adhikari April 14, 2019

लुक्ला(सोलुखुम्बु), १ बैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आइतबार भएको विमान दुर्घटनामा विमानका सहचालकसहित ३ जनाको मृत्यु भएको छ।

आज बिहान समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किदा दुर्घटना हुन गएको हो।

दुर्घटनामा समिटको विमानका साथै मनाड.को हेलिकोप्टर क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा विमानस्थल सुरक्षार्थ खटिएका दोलखाका पर्यटक प्रहरी असई रामबहादुर खड्का, काठमाडौं महानगरपालिका ७ चाबहिलका समिट एयरका सुजित ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ रहेका छन् ।

लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएकोमा थप उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै घाइते हुनेहरूमा काठमाडौं कालिमाटी टोल घर भएका समिट एयरका चालक रबिनाथ रोकाय र ललितपुर उपमहानगरपालिका ठेगाना भएका मनाङ एयरका चालक चेतबहादुर गुरुङ रहेका छन्।

घाइते विमान चालक रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएको हो।

हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङलाई भने मनाङ एयरकै हेलिकोप्टरबाट शिक्षण अस्पताल लगिएको छ।

बिहान ९ बजेर २० मिनेटमा रामेछापको लागि उड्न लागेको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुर्घट्ना भएको हो।

समिटको विमानमा चालक सहचालक मात्र सवार रहेको नागरिक उड्ड्यान प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभएको छ।

Share Now

Leave a comment.