नयाँदिल्ली(भारत),५ बैशाख(बीबीसी) । भारतमा विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत विभिन्न राज्यमा बिहीवार दोस्रो चरणमा मतदान हुँदैछ।
यो चरणमा तमिलनाडुसहित १२ राज्य र एक केन्द्रशासित प्रदेशमा १६ करोड मानिस मतदानका लागि योग्य छन्।
संसद्को तल्लो सदन लोकसभाका लागि भएको यो निर्वाचन अन्तर्गत मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ।
सबैतिर मतदान सकिएपछि मतगणना २३ तारिखमा सुरु हुनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन्। यो निर्वाचनलाई उनका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको छ।
यद्यपि रोजगारी सिर्जना गर्ने र किसानको समस्या सम्बोधन गर्नेजस्ता आफ्ना वाचा सरकारले पूरा गर्न नसकेको विपक्षीहरूको आरोप छ।
कहाँ के हुँदैछ?
यो निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुन्नेछ।
लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ।
गत एप्रिल ११ मा पहिलो चरणमा उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गालसमेत १८ राज्य र दुई केन्द्रशासित क्षेत्रमा मतदान भएको थियो।
पहिलो चरणमा मतदान भएका स्थानमा ९१ सांसद् निर्वाचित हुनेछन् भने दोस्रो चरणको मतदानबाट ९५ सांसद् छानिनेछन्।
Mathura: People queue up outside booth number number 46 in Gantholi village of Govardhan block. The voting is yet to begin here due to EVM malfunction. #LokSabhaElections2019 pic.twitter.com/FxM95M7VLi
— ANI UP/Uttarakhand (@ANINewsUP) April 18, 2019
दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, जम्मू-कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश तथा पश्चिम बङ्गालका निर्वाचन क्षेत्रमा मतदान हुँदैछ।
तमिलनाडुकका ३८ क्षेत्र तथा त्रिपुरा, मणिपुर र पुद्दुचेरीमा एक-एक क्षेत्रमा मतदान हुँदैछ।
तमिलनाडुमा भेलोरमा हुनुपर्ने मतदान अनियमितताको आशङ्कामा स्थगित भएको छ।
Jammu & Kashmir: Voting underway at polling station number 2 in Doda, in Udhampur parliamentary constituency. #LokSabhaElections2019 pic.twitter.com/b4ogaWzj8V
— ANI (@ANI) April 18, 2019
निर्वाचनमा को बलियो?
मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा विजयी भएको थियो।
भाजपाले अहिलेको जस्तै बहुमत कायम राख्न निर्वाचन अभियान चलाएको छ।

तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौती खेप्नुपरेको छ।

राहुल गान्धीका बुवा राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरू सबै नै भारतको प्रधानमन्त्री बनेका थिए।
उनकी बहिनी प्रियङ्का गान्धी गत जेनुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन्।
प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन्।

आलोचना
मोदी सत्तारूढ दलका लागि मत तान्ने प्रमुख व्यक्तिमा रूपमा रहेका छन्। तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन्।
मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन्।
यो निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन्। सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए।
सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले दुई सय ८२ स्थानमा जितेको थियो भने कंग्रेस पार्टी ४४ स्थानमा खुम्चिएको थियो।
कोही पनि मतदाताले मतदान केन्द्र पुग्नका लागि दुई किलोमिटरभन्दा पर पुग्नुपर्नेछैन।
भारतमा निर्वाचनको इतिहास
संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो।
पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो।
सन् १९६२ देखि १९८९ सम्म निर्वाचन सकिन चारदेखि १० दिन लागेको थियो। सन् १९८० मा चार दिनमा सकिएको निर्वाचन देशकै सबैभन्दा सानो समयावधिमा सकिएको थियो।
यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन्।
नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको सङ्ख्या डेढ करोड छ।


















