मुम्बई(भारत), ७ बैशाख (एजेन्सी) । भारतसहित धेरै मुलुकका फिल्म पारखीका लागि चर्चाको विषय बटुलेको फिल्म ‘बाहुबली’ मा ‘कटप्पा’ को भूमिका निभाएका सत्यराजसंग भारतकी चर्चित नायिका एवम् एक समयकि विश्वसुन्दरी ऐश्वर्य रायले फिल्ममा अभिनय गर्ने भएकी छन् ।
फिल्म निर्देशक मणिरत्नमको आगामी ठूलो बजेटको फिल्म ‘पोन्नियम सेल्भन’ मा सत्यराजले खेल्ने लगभग निश्चित भैसकेको छ । यो फिल्ममा उनले ऐश्वर्याको पतिको भूमिका निभाउने भारतीय मिडियाले बताएका छन् ।
उक्त फिल्ममा ऐश्वर्यासँगै अमिताभ बच्चन पनि देखिने सक्ने प्रवल सम्भावना छ । निर्देशक मणिरत्नमले ऐश्वर्या र अमिताभलाई फिल्ममा खेल्न संगै प्रस्ताव लगेका थिए । अमिताभले अहिलेसम्म यो फिल्म गर्ने वा नगर्ने कुनै निर्णय लिइसकेका छैनन् । तर, दक्षिणका सिनेमाको क्रेज पनि भुल्न नचाहाने र फिल्म जगतमा अभिनयका अबसरहरुलाई भ्याएसम्म उपयोग गर्दै दर्शकहरुको मन जितिछाड्ने स्वभावका धनी अमिताभले यो फिल्म पनि गर्ने सम्भावना रहेको बताइएको छ ।
मणिरत्नमको यस बिग बजेट मल्टिस्टार फिल्म एक तमिल उपन्यासको कथानकमा आधारित छ । फिल्ममा ऐश्वर्या एक राजकुमारीको भूमिकामा देखिनेछिन् । जो एक राजासँग विवाह गर्छिन् तर उनले आफू रानी हुनुको गलत फाइदा उठाउँछिन् ।
फिल्ममा राजाको भूमिका सत्यराजले निभाउनेछन् ।