प्रकाश पन्त /बीबीसी नेपाली सेवा
जुम्ला,१७ बैशाख(बीबीसी) । चैतको अन्तिम साता हुम्लाको ताँजाकोट गाउँपालिकामा साँस्कृतिक कार्यक्रम, राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता र एसईईको परीक्षा सञ्चालन भए।
तीन कार्यक्रम एकै समयमा सञ्चालन भएकोले गाउँभरिका मान्छेहरू एकै ठाँउमा जम्मा भए। यसले गाउँभरि नै मौसमी रुघाखोकीको सङ्क्रमण फैलिन पुगेको अनुमान गरिएको छ।
उक्त सङ्क्रमणका कारण नौजनाले ज्यान गुमाए। सयौँ बिरामी परे।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मौसमी रुघाखोकीले दुई वर्ष अघि पनि जाजरकोटको मजकोटमा १२ जनाको मृत्यु र तीन हजार दुई सय बिरामी परेको थिए।
मौसमी रुघाखोकीको प्रकोप
२०७१ चैत्र र २०७२ बैशाखमा जाजरकोटमै फैलिएको मौसमी रुघाखोकीबाट २७ जनाको मृत्यु भएको थियो भने एक हजार चार सय ३८ जना बिरामी परेको निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले बताए।
गत वर्ष कालिकोटमा मौसमी रुघाखोकी देखिएपनि कसैको पनि मृत्यु भएको थिएन।
हुम्लामा मात्र हैन, कर्णाली प्रदेशका जाजरकोट, कालिकोट र दैलेख लगायतका जिल्लाका विकट गाउँहरूमा मौसमी रुघाखोकी र झाडापखालाले बर्सेनि सर्वसाधारणको ज्यान लिने गरेको वाग्लेले बताए।
२०६६ सालमा जाजरकोटमा फैलिएको झाडापखालाको महामारीले डेढ सयभन्दा बढीको मृत्यु भएको निर्देशनालयले बताएको छ।
पोषणयुक्त खानेकुरा, औषधी र दक्ष स्वास्थ्य जनशक्तिको अभावले गर्दा पनि दुर्गम गाउँमा वर्षेनी समस्या बल्झिने गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले सरसफाइको कमी, शुद्ध खानेपानीको अभाव र कुपोषणजस्ता कारणले त्यहाँका बासिन्दामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले मौसमी रुघाखोकीको कारण पनि ज्यान जाने गरेको बताए।
यस्ता समस्या आउन नदिन नियमित स्वास्थ्य सेवालाई सुदृढ बनाउनु पर्ने बताइन्छ।
तर दुर्गम गाउँका स्वास्थ्य संस्थामा स्तरीय सेवा दिन प्रयोगशाला र दक्ष जनशक्ति छैनन्।
“भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने चलन छ,” लालले भने।
“जबसम्म शिक्षा र स्वास्थ्यजस्ता आधारभूत कुरामा प्रयाप्त लगानी गरिँदैन तबसम्म यस्ता खालका समस्या दोहोरिरहन्छन्।”
बर्सेनि हुने यस्ता समस्या रोकथामको लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर योजना बनाउन आवश्यक रहेको लालले बताए।
हुम्लाको रुघाखोकी नियन्त्रणमा
नौजनाको ज्यान जाने गरी तीन साताअघिबाट हुम्लाको ताँजाकोटमा फैलिएको मौसमी रुघाखोकी नियन्त्रणमा आउन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुर्खेतबाट औषधिसहित गएको चिकित्सकको टोलीले बिरामीको उपचार गरिरहेको छ।
चिकित्सकहरूले उपचार थालेपछि मौसमी रुघाखोकी नियन्त्रणमा आउन थालेको हो।
रुघाखोकी प्रभावित क्षेत्रमा पुगेर बिरामीको उपचार गरिरहेका चिकित्सक डा के.एन. पौडेलले गाउँमा पुगेर उपचार थालेपछि बिरामीका आफन्तहरू ढुक्क भएको बताए।
चिकित्सकको टोलीले दैलोमै पुगेर उपचार थालेपछि आफूहरूले खुशीको अनुभूति गरेको बिरामीका आफन्तले बताए।
ताँजाकोट- ३ की प्रेमकली शाहीले बिरामी परेर थला परेका बालबालिका उपचारपछि हिँड्डुल गर्न, खाना खान र खेल्न थालेपछि खुशी लागेको बताइन्।
मौसमी रुघाखोकीको सङ्क्रमणबाट ताँजाकोट गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ बढी प्रभावित भएका थिए।
बिरामी परेका हजुरबुवा बिस्तारै निको हुँदै गएको ताँजाकोटकी श्रृङ्खला मल्लले बताइन्।
उनले भनिन्: “चिकित्सक नआउँदासम्म कुन बेला के हुने हो भन्ने चिन्तामा थियौँ। उपचारपछि हजुरबुवा ठिक हुँदै गएकोले अहिले खुशी भएका छौँ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मृत्यु भएका मध्ये सातजना दमका बिरामी र एकजना क्षयरोगी थिए।