Prakash Adhikari April 30, 2019

काराकास(भेनेजुयला),१७ बैशाख(बीबीसी) । भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोले राष्ट्रपति निकोलस मडुरोको शासनकाल अन्त्य गराउन अन्तिम चरणको प्रयत्न गर्ने घोषणा गरेका छन्।

उनले आफूलाई सेनाको समर्थन रहेको पनि दाबी गरेका छन्।

हवाई फौजको एउटा अखडामा रेकर्ड गरिएको र सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा उनी सैनिक पोशाकमा भएका मानिसहरूसँग देखिन्छन्।

ग्वाइदोले राष्ट्रपति निकोलस मडुरोको “अवैध” शासनको अन्त्यमा सघाउन सेनालाई आह्वान गरेका छन्। एउटा सानो कू प्रयासलाई विफल पारिरहेको सरकारले जनाएको छ।

अस्वीकार

सेनाले अहिलेसम्म मडुरोलाई समर्थन गरिरहेको छ र ग्वाइदोलाई समर्थन गर्न अस्वीकार गरेको छ।

गत ज्यानुअरीमा ग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

र, उनलाई संयुक्त राज्य अमेरिका तथा अधिकांश ल्याटिन अमेरिकीसहितका दर्जनौँ देशहरूको समर्थन प्राप्त छ।

स्पेन सरकारकी एकजना प्रवक्ताले भेनेजुएलाको “रक्तपात” विरुद्ध चेतावनी दिएकी छन्।

ग्वाइदो
भेनेजुएलामा जारी सङ्कटको “शान्तिपूर्ण” समाधान खोज्न आग्रह गर्दै उनले भनेकी छन्, “स्पेनले कुनै सैनिक कूलाई सघाइरहेको छैन।”

कोलम्बियाका राष्ट्रपति इभान डुकेले ग्वाइदोलाई समर्थन गर्न त्यहाँको सेनालाई आग्रह गरेका छन्।

“बहादुर सैनिकहरू”

ह्वाइट हाउसको प्रेस मामिला हेर्ने एकजना अधिकारी सेराह स्यान्डर्सले पछिल्लो घटनाक्रमबारे राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराइएको र “आफूहरूले वस्तुस्थितिलाई नियालिरहेको” बताएकी छन्।

ग्वाइदोका समर्थक रहेका अमेरिकी सिनेटर मार्को रुबियोले न्याश्नल एसेम्बलीका प्रमुखलाई समर्थन गर्न त्यहाँको सेनालाई सामाजिक सञ्जाल ट्विटरमार्फत् अपील गरेका छन्।

भिडिओ सन्देशमा ग्वाइदोले कराकसस्थित “बहादुर सैनिकहरू” को आफूलाई समर्थन रहेको बताएका छन्।

उनले भनेका छन्, “हे भेनेजुएलाका जनताहरू! अवैध शासनको अन्त्यमा सघाउनका लागि सडकमा निस्किनुहोस्। न्याश्नल आर्मड फोर्सेसले सही निर्णय गरेको छ, उनीहरूलाई भेनेजुएलाका जनताको समर्थन छ र हाम्रो संविधानको साथ छ।”

ग्वाइदो विपक्षीको नियन्त्रण रहेको न्याश्नल एसेम्बलीका प्रमुख हुन्।

अन्तरिम राष्ट्रपतिमा निर्वाचित भएदेखि नै उनले आफूलाई सघाउन सेनालाई आग्रह गर्दै आएका छन्।

Share Now

Leave a comment.