काठमाडौं,३ जेठ । सुमधुर संगीत र कर्णप्रिय स्वरले सजिएको हृदयस्पर्शी शब्दहरुले उनिएको गीत मन नपराउने को होला ? गीत र संगीतप्रेमी नेपालीहरुलाई यस्तै उपहार देउरालीको फूल लिएर आउनुभएको छ, गीतकार युवराज अधिकारी ।
राजधानीका गीतकार,संगीतकार,गायक, बाद्यबाधक, चलचित्रकर्मी र साहित्यकारसहितका स्रष्टाहरुबीच गत शनिवार अपरान्ह राजधानीमा विमोचित गीतकार अधिकारीको देउरालीको फूल गीति एल्बममा उहाँका ६ वटा गीतहरु समाविष्ट छन् । चर्चित संगीतकार सुरेश अधिकारीले सुमधुर संगीत दिनुभएको गीतलाई नेपालका चर्चित गायकहरुले स्वर दिनुभएको छ ।
देउरालीको फूलका ३ गीतहरुमा सदाबहार गायक दीप श्रेष्ठको कर्णप्रिय स्वर सुन्न पाइन्छ । ‘अक्षता र जमरा…’ तथा ‘विहानीको शित टेकेर…’ बोलका दुई गीतमा वरिष्ठ गायक दीप श्रेष्ठको एकल स्वर रहेको छ भने ‘देउरालीको फूल..’ नामक शीर्ष गीतमा उहाँलाई मिना निरौलाले साथ दिनुभएको छ ।
एल्बमका अन्य तीन गीतलाई नेपाली युवा पुस्ताका लोकप्रिय गायकहरु रामकृष्ण ढकाल,स्वरुपराज आचार्य तथा प्रमोद खरेलले स्वर दिनुभएको छ । सुरिलो कण्ठका धनी युवा गायक रामकृष्ण ढकालले ‘आकाशको माथि माथि…’ बोलको गीत गाउनु भएको छ । ‘आँशु आफै पिउनुपर्छ हाँसो अरुलाई नै हो…’ बोलको गीत स्वरुपराज आचार्यको स्वरमा गुञ्जिएको छ । ‘एक्लै एक्लै…’ बोलको गीतलाई प्रमोद खरेलले स्वर दिनुभएको छ ।
देउरालीको फूल गीति संग्रहलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा गीतकार झलनाथ खनाल, विशेष अतिथि गीतकार तथा चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ गायक दीप श्रेष्ठ, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललगायतका विशिष्ट अतिथिहरुले सामूहिक रुपमा विमोचन गरी सार्वजनिक गर्नुभएको थियो ।
राजधानीका गीत,संगीत,साहित्य र चलचित्र क्षेत्रका व्यक्तित्वहरुको उल्लेख्य जमघट भएको विमोचन कार्यक्रममा गायक रामकृष्ण ढकालले ‘आकाशको माथि माथि..’, प्रमोद खरेलले ‘एक्लै एक्लै…’ स्वरुपराज आचार्यले ‘आँशु आफै पिउनु पर्दछ…’ बोलका देउरालीका फूलका गीतहरु गाउनुभएको थियो भने बाद्यबाधकहरुलाई पनि घुमफिर गर्ने र बाह्य संसारसंग साक्षात्कार हुने अवसर दिनुपर्छ भन्ने मान्यता राखेर ट्रयाकमा गाउदै नगाउने बरिष्ठ गायक दीप श्रेष्ठले विना संगीत ‘चिठीपत्र केही छैन साइला दाइ…’ बोलको गीत गाउनुभएको थियो
कार्यक्रममा एल्बममा समेटिएको दुई म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।वरिष्ठ संचारकर्मी भूषण दाहालको निर्देशनमा छायांकन भएका यी गीतका दृश्यहरु निकै कारुणिक छन् ।
आफ्नो बैवाहिक जीवनको बार्षिकोत्सव पारेर गीतकार अधिकारीले आयोजना गर्नुभएको विमोचन कार्यक्रममा उहाँले आफूमा सानैदेखि साहित्य,गीत र संगीतको अनुराग रहेको बनाउनुभयो । उहाँले जीवनभर साहित्य र गीत संगीतको क्षेत्रमा क्रियाशील हुने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा उहाँको साहित्यिक यात्रा र सक्रियताका बारेमा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनाल, विशेष अतिथि एवम् गीतकार तथा चलचित्र निर्देशक यादव खरेल, पूर्व मुख्य सचिव भोजराज घिमिरे, साहित्यकार विश्वविमोहन श्रेष्ठ,वरिष्ठ गायक दीप श्रेष्ठ, चलचित्रका अभिनेता तथा वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा लगायतका वक्ताहरुले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम दिनेश डिसीले अत्यन्तै रोचक ढंगले सञ्चालन गर्नुभएको थियो ।