नयाँदिल्ली(भारत),९ जेठ(बीबीसी) । लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्तत: भारतीय मतदाताले बिहीवार विजेता थाहा पाउँदैछन्।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा जितेको बहुमत कायम राख्न यसपटक खुब मेहनत गरेको छ।
देशभर मोदीको चुनावी संघर्ष विपक्षी कंग्रेस तथा शक्तिशाली क्षेत्रीय दलहरूसँग भएको थियो।
मतदान गरेर फर्किएका मतदाताहरूसँग सोधेर गरिएका एक्जिट पोल भनिने मत सर्वेक्षणहरूले मोदीले पुन: जित्ने भविष्यवाणी गरेका छन्। तर विश्लेषकहरूले विगतमा त्यस्ता सर्वेक्षणका नतिजा गलत ठहरिएकाले सजग रहन भनेका छन्।
अन्तिम तथा सातौँ चरणको मतदान आइतबार सम्पन्न भएको थियो।
मतगणना बिहीवार स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु हुनेछ।
यसपालिको चुनावलाई मोदीमाथिको जनमत सङ्ग्रहजस्तो मानिएको छ।

भारतमा मोदीलाई एक विभाजनकारी व्यक्तित्व मानिन्छ जसलाई कैयौँले मनपराउँछन् भने कतिपयले देशमा विभाजन भड्काएका आरोप पनि लगाउँछन्।
चुनावमा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कुल ५४३ सीट रहेको लोकसभामा कम्तीमा २७२ सीट जित्नुपर्नेछ।
सन् २०१४ मा भाजपाले २८२ सीट जितेको थियो। त्यतिखेर कंग्रेस केवल ४४ सीटमा खुम्चिएको थियो।
विश्वको सबभन्दा विशाल निर्वाचन
यो वर्ष भारतको निर्वाचनमा ९० करोड योग्य मतदाता थिए। यो सङ्ख्या विश्वको कुनैपनि निर्वाचनमध्ये सबभन्दा धेरै हो।
करिब ८ हजार उम्मेदवार तथा ६७० राजनीतिक दलको भाग्यको फैसला यो निर्वाचनले गर्दैछ।
भारतीय चुनाव आयोगले नतिजा चरणबद्ध रूपमा प्रकाशित गर्नेछ। तर कसले जित्दैछ भन्ने सङ्केत केही घण्टाभित्रै वा अलि बढी समयभित्र थाहा हुन सक्नेछ।
अन्तिम नतिजा बिहीवार अबेर वा शुक्रवार सबेरै आउन सक्ने अपेक्षा छ।
इलेक्ट्रोनिक भोटिङ मेसिनको नतिजालाई प्रिन्ट गरिएका मतपत्रसँग रुजु गर्नु पर्ने हुँदा गणनामा केही ढिलाइ पनि हुन सक्छ।
कसले जित्दैछन्?
भाजपाको निम्ति मोदी नै मुख्य आकर्षणका केन्द्र हुन्। सो दल र उसका गठबन्धन सहयोगीले केही सीट कम जितेपनि बहुमत कायमै राख्ने ठानिएको छ।
आलोचकहरू मोदी सरकारको पालामा तीव्र आर्थिक वृद्धि तथा रोजगारका वाचा उसले पूरा गर्न विफल भएको र देशमा धार्मिक विभाजनका रेखा खिचिएको बताउँछन्।

पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीसँग भाजपाको चर्काचर्की भएको छ
मोदीका मुख्य प्रतिस्पर्धी कंग्रेस नेता राहुल गान्धी हुन्।
भारतीय राजनीति उनको वंशको पकडबाट आजित भएको ठानिएको बेला भारतको मत उनी पुन: जित्ने कोसिसमा छन्। सो पार्टीले बहुमत जित्ने कमै सम्भावना छ। महत्त्वपूर्ण राज्यमा कंग्रेसले चुनावपूर्व गठबन्धन बनाउन पनि सकेन।
यदि दुवै दलमध्यै कसैले पनि बहुमत ल्याएन भने शक्तिशाली क्षेत्रीय दलहरू त्रिशंकू संसदमा निर्णायक बन्न सक्छन्।
थुप्रै एक्जिट पोलले यस्तो नतिजा सम्भव नभएको र भाजपाकै विजयको सङ्केत गरेका छन्। तर विपक्षी दलहरूले यस्ता प्रक्षेपण अस्वीकार गरेका छन।
जसले उत्तर प्रदेशमा जित्छ उसैले भारत जित्छ भन्ने उक्ती छ। यो विशाल उत्तर भारतीय राज्यले सबभन्दा धेरै अर्थात ८० सांसद चुन्छ। सन् २०१४ मा भाजपाले त्यहाँ ७१ सीट जितेको थियो। यसपटक त्यति नै धेरै सीट उसले जित्ला जस्तो देखिँदैन।
भारत निर्वाचन
एउटा आश्चर्यजनक घटनाक्रममा त्यहाँका कट्टर विरोधी दुई क्षेत्रीय दल बहुजन समाज पार्टी र समाजवादी पार्टीले महागठबन्धन बनाएका थिए। तिनले भाजपालाई कडा टक्कर दिन सक्नेछन्।
त्यसैले त्यहाँ हुने कुनैपनि नोक्सानीलाई पश्चिम बंगाल राज्यबाट पूर्ति गर्ने सुरमा भाजपा देखिन्छ। त्यहाँको ४२ सांसद सीटमा अघिल्लो चुनावमा भाजपाको केवल २ सीट थियो।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी त्यहाँ भाजपाको निम्ति मुख्य प्रतिस्पर्धी हुन्।
चुनावी अभियानका बेला त्यहाँ बेनर्जी र भाजपाबीच निकै चर्काचर्की भएको थियो।
दक्षिण भारतका पाँच राज्यमध्ये चारवटा – आन्ध्र प्रदेश, तेलेंगाना, तमिलनाडु र केरला – मा भाजपा सधैँ पछि परेको छ। अघिल्लो चुनावमा यी राज्यहरूका कुल ९१ सीटमध्ये भाजपासँग केवल ४ सीट थियो।
यी क्षेत्रमा भाजपाले आफू थोरै सीटमा लडेर क्षेत्रीय दलहरूसँग गठबन्धन गरेको छ।
हिंसाको आशंका,हाइ अलर्ट रहन आदेश
मतगणनाका क्रममा भारतमा हिंसा हुने आशंका त्यहाँको गृहमन्त्रालयले गरेको समाचार एजेन्सीहरूले जनाएका छन्। समाचारहरूमा जनाइएकअनुसार भारतको गृहमन्त्रालयले मतगणनामा हिंसा हुनसक्ने आँकलन गर्दै राज्य सरकारहरूलाई उच्च सुरक्षा सतर्कता (हाइ अलर्ट)मा रहन भनेको छ।
राज्य सरकारका प्रमुख सचिव र सुरक्षा प्रमुखहरूलाई पत्र लेखेर गृहमन्त्रालयले कानुन व्यवस्था चुस्त दुरुस्त राख्न र शान्ति कायम गरिराख्न आदेश दिएको छ।
गृहमन्त्रालयले केन्द्रबाट शासित राज्यहरू र अन्य प्रदेशहरूलाई इलेक्ट्रोनिक भोटिङ मेसिन राखेका स्ट्राङ रूमको सुरषाका लागि जस्तोसुकै कदम चाल्न निर्देश दिएको छ। मतगणना हुने स्थानहरूमा प्रयाप्त सुरक्षा व्यवस्था बनाइराख्न पनि आदेश दिइएको छ।
गृहमन्त्रालयले यो आदेश इभिएममा धाँधली गरेको भन्ने विपक्षी पार्टीहरूको आरोपपछि दिएको हो। त्यस्तै केही उम्मेदवारहरूले हिंसा हुनसक्ने धम्की दिएका छन्। उनीहरूले सत्ताधारी दलले इभिएममा धाँधली गरेको आरोप लगाउँदै आएका छन्। सात चरणमा भएको निर्वाचनको अन्तिम मतदान गत आइतबार भएको थियो।
त्यसपछि आएका एक्जिट पोलहरूले सत्ताधारी दल भाजपालाई अत्यधिक बहुमत मिल्ने देखाएको छ।


















