काठमाडौं, १९ पौष । नेपाल एसबीआई बैंकको २४ साधारण सभाले १५ प्रतिशत बोनस शेयर र ० दशमलव ८१ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
आर्मी अफिसर्स क्लब काठमाडौंमा सम्पन्न बैंकको साधारण सभाले सर्वसाधरण शेयरधनीका तर्फबाट सञ्चालकमा निर्वाचित बैंकर बालकृष्ण श्रेष्ठलाई अनुमोदन पनि गरेको छ ।
निर्वाचन अधिकृत दामोदर खड्काले साधरण सभामा सञ्चालक श्रेष्ठ निर्विरोध निर्वाचित भएको व्यहोरा बाचन गर्नुभएको थियो ।
बैंकले सञ्चालकको निर्वाचनका लागि निर्धारित गरेको समयावधिमा श्रेष्ठको मात्र उम्मेद्वारी परेको र दावी विरोधको समयावधिमा पनि कुनै विरोध नभएकोले उनी निर्विरोध निर्वाचित भएकोले मतदानको कार्यक्रम सञ्चालन गरिरहन नपरेको खड्काले बताएका थिए ।
नवनिर्वाचित सञ्चालक श्रेष्ठ यस अगाडि पनि दुई कार्यकाल सञ्चालक भएर बैंकको सञ्चालनमा योगदान पुर्याएका व्यक्तिमा गनिन्छन् । त्यसमध्ये करिब ७ बर्ष त उनले बैंकको अध्यक्ष भएर बैंकलाई हाँकेका थिए ।
विगतमा नेपाल बैंक लिमिटेड र स्ट्याण्डर्ड चार्टरको सञ्चालक भैसकेका श्रेष्ठले आफ्नो संक्षिप्त मन्तव्यमा भारतको एसबीआई जस्तो सबैभन्दा ठूलो सञ्जाल भएको, सबल आधार भएको र सरकारी बैंकको ५५ प्रतिशत शेयर रहेको नेपाल एसबीआई बैंकलाई नेपालको नम्बर १ बैंक बनाउन सकिने विश्वास व्यक्त गरेका थिए । उनले बैंकका दक्ष कर्मचारी, बैंकले अबलम्बन गरेको आधुनिक प्रविधि र एसबीआईको ट्र्ेडमार्क नै यसको ठलो पूँजी भएको बताए ।
साधारण सभामा बैंकका प्रबन्ध सञ्चालक अनुकूल भट्नागरले शेयर धनीहरुले दिएका अमूल्य सुझाबहरु कार्यान्वयन गर्ने बताए । उनले यसै बर्ष बैंकको आफ्नो भवन निर्माण आरम्भ गरिने र नेपालको पूर्वाधार विकास र आर्थिक समुन्नतिमा बैंक सहयात्री बन्ने बताए ।
साधारण सभामा बोल्ने एक दर्जनभन्दा बढी शेयरधनीहरुले नेपालको सबैभन्दा धेरै व्यापार हुने र नेपाललाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने मुलुकको सरकारी बैंकको शेयर रहेको एसबीआई बैंकलाई अझ आक्रामक तबरले सञ्चालन गर्न सुझाव दिएका थिए । उनीहरुले आगामी बर्ष रजत जयन्ती मनाउने तरखरमा रहेको बैंकले शेयरधनीलाई नबिल, नेपाल इन्भेष्टमेन्ट, स्याण्डर्ड चार्टर र एभरेष्ट जस्ता बाणिज्य बैंकको तुलनामा कम लाभांश दिएको बताउदै आगामी बर्ष यसको अंश बढाउन सुझाब दिएका थिए ।