काठमाडौं,२४ जेठ । बिहीवार राति सुदूरपश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा आएको ठूलो हावाहुरीमा परी दुई जनाको मृत्यु भएको र ७० भन्दा बढी मानिस घाइते भएका कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बीबीसी नेपालीलाई बताएका छन्।
हावाहुरी आउँदा मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको टिपरको ठक्करबाट मृत्यु भएको हो।
टीकापुरका लाहानु चौधरीको पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल भत्काएपछि किचिएर मृत्यु भएको बताइएको छ।
धेरै घाइतेको सेती अञ्चल अस्पताल, अत्तरियास्थित पद्मा अस्पताल, हसनपुरस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको बताइएको छ।
घाइतेमध्ये गम्भीर अवस्था भएका दुई जनालाई थप उपचारका लागि भारत र दुई जनालाई कोहलपुर पठाइएको जानकारी आफूले पाएको धनगढीस्थित बीबीसी संवाददाता उमीद बाग्चन्दले बताएका छन्।
घाइतेको सङ्ख्या धेरै भएकाले सेती अञ्चल अस्पतालमा ठाउँ अभाव भएको छ। उनीहरूलाई बरन्डामा राखेर उपचार गरिँदैछ।
क्षति
बिहीवार राति झन्डै सवा सात बजे कञ्चनपुरमा सुरु भएको हावाहुरी आधा घण्टाजति चलेको थियो।
प्रमुख जिल्ला अधिकारी बोहोराका अनुसार पौने आठ बजेसम्म चलेको हावाहुरीले कैलाली जिल्लामा बढी क्षति पुर्याएको देखिएको छ।
हिजो बेलुका कैलाली कञ्चनपुर क्षेत्रमा आएको हावाहुरीका कारण १ जनाको मृत्युभएको, ९९ जना घाइते भएका, घाइतेमध्ये १८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भै रहेको , सामान्य सामान्य घाइते ८१ जना उपचार पश्चात् घर फर्केका । थप विवरण आउन बाँकी ।
— NEOC, MoHA Nepal (@NEOCOfficial) June 7, 2019
हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा घर र टहराको छाना उडेको अनि कतिपय ठाउँमा रूख तथा बिजुलीका खम्बा ढलेका छन्। त्यसकारण बाटो अवरुद्ध भएको र विद्युत् आपूर्ति पनि बन्द भएको छ।
प्रभावित क्षेत्रहरूमा उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालित भएका छन्।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी) ले सामाजिक सञ्जालमा कैलाली र कञ्चनपुरको हावाहुरीबारे बिहीवार राति नै उल्लेख गरेको थियो।
कैलाली र कञ्चनपुरमा अहिले बेलुकी साढे ७:३० देखि आएको आँधी हुरीले निक्कै क्षति पुर्याएको अनुमान गरिएको छ । रुख, पोल ढालेर बाटो अवरुद्ध भएको खबर छ । विद्युत् छैन । केही घाइते भएको र नजिकको अस्पतालमा उपचार भइरहेको थाहा भएको छ । थप विवरण आउन बाँकी छ ।
— NEOC, MoHA Nepal (@NEOCOfficial) June 6, 2019
l
उसले हावाहुरी पूर्वतिर बढ्ने क्रममा रहेको भन्दै सकेसम्म सतर्कता अपनाएर क्षतिबाट जोगिन आग्रह गरेको थियो।
हावाहुरी अहिले बर्दिया र दाङ तर्फ पनि बढ्दै पूर्व पूर्व बढ्ने क्रममा छ । सकेसम्म सतर्कता अपनाइ क्षती हुनबाट जोगियौँ ।
हावाहुरी अहिले बर्दिया र दाङ तर्फ पनि बढ्दै पूर्व पूर्व बढ्ने क्रममा छ । सकेसम्म सतर्कता अपनाइ क्षती हुनबाट जोगियौँ ।
— NEOC, MoHA Nepal (@NEOCOfficial) June 6, 2019
त्यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि सामाजिक सञ्जालमार्फत् हावाहुरीको प्रणाली पूर्वतिर सर्दै गएको उल्लेख गरेको थियो।
हाल पश्चिमि तराईको कंचनपुर,कैलालि, बर्दिया , बाँकेमा देखिएको हावा हुरिको प्रणालि पूर्वतिर सर्दै गइरहेकोले यसले दाङ , कपिलबस्तु र रुपन्देहि सम्म पनि असर गर्ने देखिन्छ । यो प्रणालिले पश्चिमका अन्य पहाडि जिल्लाहरुमा पनि हावाहुरि र मेघ गर्जन हुन सक्ने देखिन्छ। pic.twitter.com/JaIKv49VDn
— Nepal Weather Forecast (@DHM_Weather) June 6, 2019
महाशाखाका अनुसार सो प्रणालीका कारण पश्चिमका जिल्लाहरूमा हावाहुरी र मेघगर्जन हुन सक्ने देखिएको थियो।
झन्डै दुई महिनाअघि बारा र पर्सा जिल्लामा विनाशकारी हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।
बीबीसीबाट