Prakash Adhikari June 15, 2019

वाशिंटन(संयुक्त राज्य अमेरिका),३१ जेठ । अमेरिकाका ६ सयभन्दा बढी कम्पनीले चीनियाँ वस्तुमा आयातकर लगाउँदा त्यसले अमेरिकी अर्थव्यवस्थामा नै नोक्सानी हुने चेतावनी दिंदै चीनसंगको व्यापारयुद्ध तुरुन्त रोक्न अमेरिकी राष्टपतिलाई आग्रह गरेका छन् ।

विशेषत थोक तथा खुद्रा व्यापारी, उत्पादक र प्रविधि क्षेत्रका कम्पनीहरूले ट्रम्पलाई पत्र लेख्दै चीनसँगको व्यापार युद्धले धेरैको रोजगार गुम्ने तथा हजारौं उपभोक्ता महँगीको मारमा पर्ने भएकोले व्यापार युद्ध अन्त्य गर्न भनेका हुन ।

राष्ट्रपति ट्रम्पले गत मे महिनामा २०० अर्ब डलरको चिनियाँ आयातमा १० प्रतिशत करलाई बढाएर २५ प्रतिशत पुर्‍याएका थिए । त्यसको प्रत्युत्तरमा चीनले समेत अमेरिकावाट आयात हुने कृषिजन्य वस्तुको कर वढाएको थियो ।

अमेरिकाले चीनबाट आयात हुने छालाजन्य वस्तु र विद्युतीय सामाग्रीमा करको सीमा बढाएको थियो । चीनबाट आउने वस्तुहरुमा आयात शुल्क बढाउदा उक्त शुल्क चीनले नभइ स्वयं कम्पनीले व्यहोर्नु पर्ने भएकाले अमेरिकी बजारमा वस्तुको मूल्य बढ्न जाने अमेरिकी कम्पनीहरुले जनाएका छन ।

अमरिकी कम्पनीहरुले अतिरिक्त आयातशुल्क लगाउँदा अमेरिकाको व्यापार, कृषिक्षेत्र र त्यसको प्रत्यक्ष मार सर्वसाधारणमा पर्ने धारणा व्यक्त गरेका छन ।

ट्रम्पले ३०० अर्ब डलरको अतिरिक्त आयातमा पनि कर बढाउने धम्की दिएका छन् । अमेरिकी कम्पनीहरूका अनुसार, चीनबाट आउने वस्तुहरूमाथि लाग्ने आयातशुल्क चीनले नभई आफैंले दिनुपर्ने भएकाले सामानको भाउ बढ्छ ।

अमेरिका र चीनबीच पछिल्लो समय वासिङ्टनमा व्यापार वार्ता भएपनि सो वार्ता विना निष्कर्ष टुंगिएपछि बजार अस्तव्यस्त भएको छ ।

अमेरिकी कम्पनीहरुले व्यापार युद्धले अमेरिकाको आर्थिक वृद्धिमा नै गिरावट आउने दावी गरेपनि यसबाट राष्ट्रपति ट्रम्प टसमस हुने लक्षण भने देखिएको छैन ।

अमेरिकाको चीनसँगको आयातमा गिरावट आएपनि अन्य एशियाली देश भियतनाम, वंगलादेश, फिलिपिन्सलगायतवबाट अमेरिकी बजारमा आयात हुने सामाग्री भने बढेको छ ।

यता ट्रम्प समर्थक केही व्यापारीले चीनसँगको व्यापार युद्धले क्षणिकरुपमा आर्थिक वृद्धिदरलाई असर गरेपनि दीर्घकालीन हिसाबले त्यसको फाइदा अमेरिकी जनतालाई हुने बताउदै आएका छन ।

Share Now

Leave a comment.