सानेपा(ललितपुर), ११ आषाढ । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं. १० को डोकेबजारमा शान्तिपूर्ण रुपमा विरोध गरेका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई खानेपानी मन्त्री विना मगरको निर्देशनमा नेकपाका कार्यकर्ताहरुले असार १० गते आक्रमण गरी घाइते बनाएको आरोप नेपाली कांग्रेसले लगाएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आक्रमणमा परेर नेपाली कांग्रेसका २० जना कार्यकर्ताहरुलाई घाइते बनाएका छन् । उक्त घटनामा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुर्नवास नगरपालिका वडा नं. २ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्द लगायतका व्यक्तिहरु गम्भीर घाइते हुनु भएको छ ।
सो घटनामा परेर घाइते हुनुभएकामध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा उपचारार्थ भर्ना गरिएको छ भने बाँकी रहेका घाइतेहरुको कैलाली स्थित अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वहालवाला मन्त्रीले आफ्ना कार्यकर्ताको प्रयोग गरी सार्वजनिक स्थलमै भौतिक आक्रमण गरेको कार्यको नेपाली कांग्रेसले भत्र्सना गरेको छ ।
कांग्रेसले आपराधिक घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्नुका साथै घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसंग माग गरेको छ।


















