Prakash Adhikari July 5, 2019

काठमाडौं,२० आषाढ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आर्थिक अवस्था दिनहुँ खस्कदै गएको छ । निगमका एक सञ्चालकले दिनुभएको जानकारी अनुसार निगम सरकार जमानी बसेर सञ्चय कोष र नेपाल नागरिक लगानी कोषबाट लिएको ३४ अर्ब कर्जाको साँबा ब्याजको किस्ता तिर्न सकिरहेको छैन । यसको कारण निगमले गत बर्ष आफ्नो बेडामा थपेका दुई थान वाइड बडीलाई देखाइएको छ । त्यस अगाडि भने निगमले एअरबस कम्पनीबाट किनिएका ३२०-२०० सेरिजका न्यारो बडीका दुई जहाजहरुको साँबा ब्याज भने समयमा नै तिर्दै आएको थियो ।

निगममा कार्यकारी अध्यक्षको रुपमा सर्वाधिकार लिएर नेतृत्वमा आएपछि वर्तमान अध्यक्ष मदन खरेलले जारी गर्नुभएको श्वेतपत्रमा न्यारोबडीकाका ३२० -२०० मोडलका जहाजको लागि ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैया ४३ पैसा र बाइडबडीका दुई जहाजको लागि ८० करोड ४२ लाख ६४ हजार ४ सय २७ रुपैया २० पैसा गरी त्रैमासिक रुपमा १ अर्ब १३ करोड ५२ लाख १९ हजार ९ सय ८ रुपैया ६३ पैसा तिर्नुपर्ने उल्लेख गरिएको थियो ।

महालेखा परीक्षकको विभागले निगमलाई २०७५ चैत्र १३ मा निगमको लेखा परीक्षण गरि प्राप्त विवरणमा २०७५ चैत्र १० मा छलफलपश्चात निगम व्यवस्थापनलाई पठाइएको ५१ पृष्ठको लेखा परीक्षण प्रतिवेदनको २४ औं पृष्ठमा पनि वाईड बडीको विमानको ऋणको साँबा ब्याज भुक्तानीको बारेमा बूँदा नं १३.९ मा यसरी उल्लेख गरिएको छ, ‘निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट विमान खरिदको लागि रु २३ अर्ब ९९ करोड ६१ लाख ३० हजार ऋण लिएको देखिन्छ । सो ऋणमध्ये दुवैै संस्थाले सेवा शुल्क र पूँजीकरण गरेको ब्याज कटाई रु २२ अर्ब ९० करोड १७ लाख १६ हजार उपयोग गरेको देखिन्छ प्राप्त भएका विमान योजना अनुसारका गन्तब्यमा उडान गर्न नसकेकोले कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये २०७५।९।३० भित्र तिर्नुपर्ने साँँबा तथा व्याजको किस्ता रु ४० करोड २० लाख ६७ हजार र रु ४० करोड २१ लख ९७ हजार लेखा परीक्षण अवधिसम्म निगमले तिर्न नसकेको अवस्था छ ।’

प्रधानमन्त्रीको असन्तुष्टी

पहिले खुला प्रतिस्पर्धाबाट निगमको महाप्रबन्धकमा नियुक्त हुँदा निर्विवाद ढंगले निगममा दुईवटा न्यारोबडीका जहाजहरु भित्र्याएर कर्मचारीहरुको सहानुभूति बटुल्न सफल हुनुभएका खरेल दोस्रोपटक प्रधानमन्त्री के.पी. शर्मा ओलीको विशेष निगाहमा सर्वाधिकार सम्पन्न कार्यकारी अध्यक्षमा नियुक्ति लिएर आएपछि निगमका निष्ठावान कर्मचारीहरु निकै उत्सहित भएका थिए । तर आफू पदमा आएको १० महिना बितिसक्दा पनि उहाँले निगममा आन्तरिक सुधार गर्न नसकेपछि कर्मचारीहरु निराश बनेका छन् ।

उहाँको अकर्मण्यताले सञ्चालक समिति, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमात्र होइन उहाँलाई ठूलो भरोसा गरेर नियुक्ति गर्नुभएका प्रधानमन्त्री के.पी. शर्मा ओली स्वयंसमेत असन्तुष्ट रहेको कुरा बार्षिकोत्सवमा छताछुल्लै हुन गएको थियो । विभागीय मन्त्रालय पनि सम्हालेको र निगममा आफूलाई प्रधानमन्त्रीको साखुल्ले भएको देखाउने अभिप्रायले कार्यकारी अध्यक्ष खरेलले प्रधानमन्त्रीलाई विशेष अतिथिको रुपमा निमन्त्रणा गर्नुभएको थियो । तर बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले जुन अभिब्यक्ति दिनुभयो, त्यसले उहाँको कामबाट प्रधानमन्त्री पूर्णत असन्तुष्ट रहेको सन्देश कुनै पनि बेला जुनसुकै कारवाही गर्न सक्ने उहाँको चेतावनीले प्रष्ट पारेको थियो । उहाँले कर्मचारी युनियनका प्रतिनिधिलाई सरकारलाई निगममा लगानी थप्न विगत १ बर्षदेखि आफूले थालेको प्रयासका बारेमा बोल्न लगाउनुभयो, तर प्रधानमन्त्रीले यथावस्थामा १ पैसा दिन नसकिने बताएर उहाँलाई निराश बनाउनु भयो ।

निगमका कर्मचारीहरु प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पछि अध्यक्ष खरेल झन कमजोर हुनुभएको बताउछन् । अब उहाँले आफूलाई प्रधानमन्त्रीको साथ र आर्शिवाद भएको भ्रम छर्ने ठाँउ लगभग समाप्त भएको छ । त्यसको सट्टामा उहाँमाथि कुनै पनि दिन प्रधानमन्त्रीले जस्तोसुकै पनि कारबाही गर्न सक्ने सन्देश कर्मचारी र बाँकी जनताले पाएका छन् ।

प्रधानमन्त्री ओलीले केही हप्ता पहिले देशको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानीको सन्दर्भमा आफूलाई झण्डै डेढ बर्षसम्म गुमराहमा राखिएको यथार्थ उजागर गर्नुभएको थियो । नेपाल वायुसेवाका सन्दर्भमा पनि उहाँ उज्यालोमा हुनुहुन्छ भन्ने चाँही छैन । निगमभित्रका कतिपय विषयमा उहाँलाई यथार्थ जानकारी नै नदिईकन उहाँको आवरण देखाएर गलत धन्दा गरिएको हुन सक्ने पनि बताइन्छ ।

सुगतको जाल : मदनको काल

अहिले निगमभित्र नेतृत्व मदन खरेलको तर रिमोट कन्ट्रोल सुगतको चलिरहेको बताइन्छ । सञ्चालक समितिका पदाधिकारीहरु काग जस्ता बाठा सुगतरत्न कंशाकारले नै मदन खरेलको कमजारीमा प्रहार गरी उहाँको छवि बिगारेर आफूलाई प्रतिकूल अवस्थामा पनि कठोर निर्णय लिनसक्ने व्यवस्थापकका रुपमा प्रमाणित गरेर हिड्न सफल भएको बताउँछन् ।

 

‘एउटै सानो निर्णयमा सुगतले मदनको निष्ठा, नैतिकता, सदाचार र निष्कलंकको दावीमाथि प्रश्न उठाउने बाटो बनाइदिनुभयो त्यसको भेउ सुधा मदनले  पाउनुभएन ।’

एउटै सानो निर्णयमा सुगतले मदनको निष्ठा, नैतिकता, सदाचार र निष्कलंकको दावीमाथि प्रश्न उठाउने बाटो बनाइदिनुभयो त्यसको भेउ सुधा मदनले  पाउनुभएन । सुगतरत्न कंशाकार र उहाँको टीमसहित सञ्चालक समिति बाइडबडी खरिदको झण्डै ६ अर्ब ५९ करोड आर्थिक अनियमिततामा मुछिएको बेलामा निगमको नेतृत्व सम्हाल्न आउनुभएका मदन खरेल सुगत कार्यकारी महाप्रबन्धक रहेको बेलामा भएका एक दुई निर्णय आफ्नो अधिकार प्रयोग गरेर उल्ट्याई दिनुभयो ।

यसमा भर्खर ल्याएका वाइडबडीका विमान उपयोग हुने उपकरण आपूर्तिको लागि आह्वान गरिएको पावर बाई आवरमा उपकरण किन्ने व्यवस्था र एअरबस ३२०-२०० सेरिजका न्यारो बडीमा लाग्ने चार थान इञ्जिनको मर्मत संभारको लागि मर्मत संभार केन्द्र चयन गर्ने र जगेडा ईन्जिन लिजमा लिने सम्बन्धी टेण्डर थिए । दुवै टेण्डरहरु मूल्यांकन भएर नतिजा निकाल्ने चरणमा पुगेका थिए । उहाँले के उद्देश्यले हो सञ्चालक समितिबाट पहिले निर्णय भएर टेण्डर भएर नतिजा निस्कन लागेका दुवै टेण्डरमा कार्यकारी अध्यक्षको लामो हात प्रयोग गरिदिनुभयो । पावर वाई आवरका पार्टपूर्जा आपूर्ति गर्ने टेण्डर दोस्रो स्थानमा रहेको एजे वाल्टर भन्ने कम्पनीलाई दिने निर्णय गरिदिनुभयो र मर्मत संभार तथा इन्जिन लिजको सम्बन्धमा पुन टेण्डर गर्ने निर्णय गरिदिनुभयो ।

पावर बाई आवरको टेण्डरको निर्णयमा पूर्वमहाप्रबन्धक सुगतरत्नले खेलेको प्रत्यक्ष कसरी देखिन्छ भने जसलाई मदन खरेलले पहिलेको निर्णय बदलेर यो टेण्डर दिनुभयो, उहाँ सुगतरत्नकै नातेदार पर्नुहुन्छ । यो कम्पनी वाइड बडी जहाज आपूर्ति गर्न तिकडम रच्ने मध्येका एक दीपक शर्माले आफू एएआरमा जानेभएपछि तात्कालीन महाप्रबन्धक सुगतरत्नसंगको सम्बन्ध मधुर बनाउन उहाँकै सिफारीसमा बीके श्रेष्ठलाई दिइएको थियो । यसको भेउ पाएर नपाएर मदन फस्न पुग्नुभयो । सुगतजीको नेटवर्कले काम गरिहाल्यो । यता टेण्डर हात पार्यो उता लेखामा उजुरी हाल्न लगायो । मदन दोहोरो चेपुवामा पर्नुभयो ।बजारमा हल्ला चल्यो,पैसाको चलखेल भयो, लेखाले छानवीन गरेर करोडौंको आंकडा निकाल्यो, उता नियमकानून तोडेको आरोप लाग्यो ।

लेखा समितिले दिएको निर्देशन र सो अनुरुप विभागीय मन्त्रालयले दिएको निर्देशन पालना नगरेपछि मदन खरेलले आफ्नो ज्ञान,गुण,अनुभव र लामो जीवन अर्पण गरेर निगमको सच्चा सेवकको रुपमा कमाएको ख्यातीमा एकाएका प्रश्न उठ्यो ? प्रधानमन्त्री तथा विभागीय मन्त्री केपी शर्मा ओलीले समेत प्रश्न उठाउनु भएको छ । त्यसका विरुद्धमा अग्नि परीक्षा दिन सकिन्थ्यो, चारैतिर बाट प्रश्न उठेको ठेक्काको संझौता भंग गरेर तर प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोपबाट मुक्ति दिने, लेखा समिति र विभागीय मन्त्रालयको निर्देशनको पालना हुने र आफ्नो आजसम्मको ख्याति पुन आर्जन हुने यो मार्ग उहाँले अवलम्बन गर्न चाहनुभएको छैन, वार्षिकोत्सवमा प्रधानमन्त्रीले तिखो टिप्पणी गरेपछि निगमकै कर्मचारी भनिरहेका छन दालमा कुछ काला हे ।

काँधमाथि दोषीहरु

निगमका इमान्दार कर्मचारीहरु मदन खरेल आएपछि गलत कार्यमा मुछिन नपर्ने र इमान्दारीपूर्वक नियमानुसार काम गरेर संस्थालाई उन्नतिको शिखरमा लैजान पाउनेमा ढुक्क थिए । तर अवस्था त्यस्तो रहेन ।

उहाँले तिनै वदनाम व्यक्तिहरुलाई टाउकोमा चढाउनुभयो, जो कारबाहीकालागि योग्य थिए । निगमको उच्चसूत्रले दिएको जानकारी अनुसार वाइडबडी खरिद खरिदप्रकरणमा मात्र हैन, सुगतरत्न कंशाकारको कार्यकालभरी उहाँको दाहिना बनेर जे पनि गर्ने राजकीय छुट पाएका क्याप्टेन सुभाष रिजालले एअरबस ३२०-२०० सेरिजका जहाजको प्रशिक्षक पाइलट बन्ने सम्बन्धमा लिएको तालिम र उहाँ विभागीय जिम्मेवारीबाट हटेपछि पनि सो विभागको नाममा विदेशका उडान गन्तव्यका होटलहरुमा संझौता गर्दै हिडेको सन्दर्भमा अख्तियारमा उजुरी परेर छानवीन भैरहेको थियो । तर कार्यकारी अध्यक्ष खरेलले नै सो कारबाही रोक्न  अख्तियारलाई प्रभावित पार्नुभएको छ ।

प्रशिक्षक पाइटल सुभाष रिजाललाई निगमले सिंगापुर एरोस्पेसमा गत बर्ष सन २०१८ को फेब्रुअरीमा सिन्थेटिक  टाइप रेटिड. इन्स्ट्रक्टर कोर्शको प्रशिक्षणमा पठाएको थियो । यो प्रशिक्षण सफल भएपछि नेपालका पाइटलहरुको सिमुलेटर तालिमको रेटिड गर्न पाइन्छ । यसकोलागि ३ दिन ग्राउण्ड क्लास सकेपछि ल्याण्ड टे«निड. क्याप्टेनको कुल ४ घण्टाका दुई तालिम गर्नुपर्दछ, त्यसपछि ४ घण्टाको सिम प्यानेल पीपीसी र चेक अब्जरभेसन ४ घण्टाको र सिमुलेटर तालिम २ घण्टाको गर्नुपर्दछ । त्यतिले मात्र पाइलटहरुलाई प्रशिक्षण दिन र उनीहरुको स्तर निर्धारण गर्ने ज्ञान र सीप पर्याप्त मानिदैन, थप ४ घण्टाको रिकरेन्ट तालिम र २ घण्टाको पीपीसी र चेक गर्नुपर्ने हुन्छ । यसका लागि पूरा ३ दिन र १६ घण्टाको सिम ट्रेनिङ आवश्यक हुन्छ ।

तर तालिम दिने संस्था सिंगापुर एरोस्पेशका क्रु टे«निङ डिभिजनका प्रबन्धक मुकेशकुमार गुप्ताले नेपालको नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा मापदण्ड विभागमा पठाएको डकुमेण्टमा क्याप्टेन रिजालले दुई दिनमात्र तालिम गरेको उल्लेख छ । उहाँले फ्रेब्रुअरी ११ र १४ मा ती तालिम गनुभएको थियो । यथार्थ यस्तो हुँदा हुँदै पनि नेपालको नागरिक उड्डयन प्राधिकरणले उहाँलाई प्रशिक्षण तालिम दिन र त्यसको स्तर निर्धारण गर्न अनुमति दिएको छ । नागरिक उड्डयन प्राधिकरणको यस्तै लापरवाहीले युरोपेली यूनियनले नेपाललाई कालो सूचिमा राखेको बताइन्छ ।

जहाजमा मस्त निदाएको विषयमा प्राधिकरणले गरेको कामकारबाहीमाथि पनि पाइलटहरुले विभेदको आरोप लगाएका छन् । दुई बर्ष अगाडि लुक्लाबाट काठमाडौं आउदा सिता एअरका पाइलट रजनिश मानन्धर सुतेको भिडियो सार्वजनिक भयो । र प्राधिकरणले उहाँको लाईसेन्स १ बर्ष रद्द गरी ६ महिनासम्म कोपाइलटमा झार्ने निर्णय गरिदियो । तर नेपाल वायुसेवा निगमका विमान चालक नागराज शंखमूर्ति उडानकै क्रममा मस्त निदाएको फोटो सार्वजनिक भएपछि उहाँलाई भने ५ हजार नेपाली रुपैया तिरेर उन्मुक्ति मिल्यो । यसले पनि उडान सुरक्षाका सम्बन्धमा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण दुवैमा लापरवाही भएको र राजनीतिक कदमलेमात्र नेपाललाई युरोपेली यूनियनले कालोसूचिबाट हटाउन नसक्ने बताइन्छ ।

 

क्याप्टेन रिजालको हेलचक्र्याई २ सय ७४ जनासम्म यात्रुहरु बोकेर जमीनभन्दा ४० हजार फिटमाथि आकाशमा उड्ने जहाजलाई उडाउने पाइलटहरुलाई तालिम दिने पाईलटहरुको प्रशिक्षणको लागि आवश्यक टाइप रेटेड इन्स्ट्रक्टर सिन्थेटिक तालिममा मात्र देखिएको हैन,अनधिकृत अधिकारको प्रयोगमा पनि उत्तिकै देखिएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी मदन खरेलले सम्हाल्ने वित्तिकै अपरेशन विभागको निर्देशकबाट क्या. रिजाललाई हटाएको थियो । तर गत बर्ष नोभेम्बर महिनामा उहाँ मलेसिया जानुभयो र त्यहाँ निगमका क्रुहरु राख्न चयन गरिएको होटल सेरि प्यासेफिकसंग २ बर्षको लागि होटल सेवा लिने करार गरेर आउनुभयो ।

निगमले उहाँलाई त्यस्तो कुनै म्यान्डेट दिएको थिए । निगमले सो होटलमा प्रतिदिन २२० रिंडिट पर्ने ६ वटा कोठा लिने गरेको छ । मलेशियामा निगमको दैनिक उडान छ । यस हिसावले निगमले बर्षभरीमा १ करोड २८लाख र दुई बर्षमा २ करोड ५६ लाखभन्दा बढी भुक्तानी गर्नेगरि भएको यो संझौतामा खेलमेल छैन भन्ने अवस्था रहेन । यसमा शंका गर्नै ठाँउ कहा पनि छ भने सो संझौतामा होटलका तर्फबाट २०१७ को जुलाई ३१ मा हस्ताक्षर भएको छ र निगमका क्याप्टेन रिजालले आफू पदमा नरहेको बेलामा पदको अनधिकृत उपयोग गरेर गलत नजिर स्थापना गर्नु भएको छ ।

तर यसका सम्बन्धमा पनि न निगमले क्या. रिजालमाथि कुनै कारबाही चलायो, न अख्तियारले नै ।

निगमको उन्नति गराउने नाममा आउनुभएका पूर्व महाप्रबन्धक सुगतरत्नले अनावश्यक रुपमा निगमलाई बाइडबडीको भारी बोकाएर आफू कुस्त कमाएर निगमलाई धराशायी मात्रै हैन, ध्वस्तै बनाउन तयार पारेका जालमा निगमलाई उकास्ने भनेर आउनुभएका खरेल नराम्रोसंग अल्झिनु भएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले भन्नुभए जस्तै अब रणनीतिक साझेदार नल्याईकन यो उत्रिने अवस्था पनि छैन, निगमको लागि आवश्यक टाईपिन देखि बाईडबडी र त्यसका इन्जिनदेखि पार्टपूर्जा सबैमा कमिशनैमात्र खान खोज्ने निगमको व्यवस्थापन र कर्मचारीलाई तह लगाउने एकमात्र विकल्प अब विदेशी साझेदार वा व्यवस्थापन मात्र हुन सक्छ । सेतो छालादेखि पछि तर्सिने र सेता छालाले संस्थालाई ट्रयाकमा पनि ल्याउन सक्ने उदाहरण निगम जस्तै वित्तीय रुपमा धराशायी बन्न पुगेका नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकलाई उतारेर विदेशी व्यवस्थापकहरुले प्रमाणित गरिसकेका छन् भने निगम पनि सन १९७० को दशकमा एअर फ्रान्ससंगको व्यवस्थापन साझेदारीमा सबैभन्दा उत्तम अवस्थामा रहेको इतिहास पनि मेटिएको छैन ।

Share Now

Leave a comment.