सानेपा(ललितपुर), १९ आषाढ । नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको आषाढ २२ गतेदेखि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरुपका पार्टी संरचनाहरु निर्माण गर्ने सम्बन्धमा आवश्यक निर्णय लिने जानकारी दिदैं यसका संकेत गर्नुभएको छ ।
बिहिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले भन्नुभएको छ , ‘नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको छ । नेपालको संविधान बमोजिमका नविन संरचनाहरु पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरुप नै गठन हुनेछन् । सोभन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरु विल्कुलै निराधार यसकारण पनि छ की नेपाली कांग्रेसको विधानमा पार्टीको नविन संरचनाहरु गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन ।’
प्रवक्त शर्माको विज्ञप्तिले पार्टीले संविधान र पार्टीको विधानको प्रावधान अनुरुप संरचना बनाउने तर तदर्थसमिति गठन नगर्ने कुराले पार्टीको तल्लो तहमा निर्वाचित कार्य समिति निर्माण गर्ने स्पष्ट पार्दछ ।
तल्लो तहमा निर्वाचित समिति आएपछि त्यसले माथिल्ला निकायमा पनि निर्वाचित समितिको नै माग गर्दछ । त्यसैले आगामी फागुनभित्र केन्द्रीय समितिको निर्वाचनको लागि महाधिवेशन गराउनका लागि कम्तिमा असोज कार्तिक महिनादेखि तल्लो तहको पार्टी संरचनाको निर्वाचन प्रारम्भ गर्नुपर्ने हुन्छ ।
त्यसपूर्वका साउन र भदौ पार्टीको सदस्यता वितरण र नवीकरणको लागि छुट्टयाउनु पर्ने हुन्छ ।
पार्टी प्रवक्ता शर्माले पार्टीको संशोधित विधानको अन्तिम टुंगो भए पश्चात केन्द्रीय समितिले विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने र बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुने पनि बताउनुभएको छ ।
कांग्रेस प्रवक्ता शर्माले दोस्रो चरणको जागरण अभियानपूर्व नै विधान अनुरुपको सबै संरचना निर्माण गरिने घोषणा वैशाख ३० गतेको पत्रकार सम्मेलन मार्फत भइसकेको जानकारी दिनुभएको छ । कांग्रेसले भदौ २४ गतेदेखि १५ दिने जागरण अभियान चलाउने घोषणा पहिल्यै गरिसकेको छ ।
कांग्रेस प्रवक्ता शर्माले विधानले निर्दिष्ट गरे बमोजिम देशव्यापी रुपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा प्रविष्ट हुनेछ । उहाँले भन्नुभएको छ, केन्द्रीय समितिको बैठक लगतै नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे जरुरी निर्णय आवश्यक परामर्श पश्चात् हुनेछन् ।