Prakash Adhikari January 5, 2018

काठमाडौं, २१ पौष । सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह ४ बजेदेखि बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो ।

निर्वाचन आयोगले सरकारलाई माघ २५ गतेको मिति तोक्न सुझाव दिएको थियो ।

तर एमाले लगायत बामगठबन्धनका घटकहरु र तिनका नेताहरुले निर्वाचन अगाडि गरी नयाँ सरकार गठन र संसद अधिवेशन बस्ने मार्ग सहज बनाउन सरकार र सत्तासीन राजनीतिक दलका नेताहरुलाई दबाव दिंदै आएका थिए ।

राष्ट्रिय सभाको निर्वाचन छिटो गर्ने मनशायले अघिल्लो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

राष्ट्रियसभा ५९ सदस्यीय हुने संवैधानिक प्रावधान छ । जसमा ७ वटा प्रदेशबाट ८र८ जनाका दरले ५६ जना निर्वाचित भएर आउने छन भने ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् ।

निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।

निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ ।

सरकारले राष्ट्रियसभाको निर्वाचनको घोषणा, प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी राजनीतिक सहमतिमा टुंग्याउने सदाशयले बिहिबार सर्वदलीय बैठकको आयोजना गरेको थियो ।

तर बैठकमा सहभागी एमालेका नेताहरु प्रदेश प्रमुख र अस्थायी राजधानी निर्णय गर्ने अधिकार संविधानले सरकारलाई दिएको भन्दै पन्छिएका थिए ।

Share Now

Leave a comment.