काठमाडौं, २१ पौष। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक र सामाजिक विकासको अत्यावश्यक तत्व मानिएको ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउन र अधिक उर्जा उत्पादन गरी निर्यात गर्ने अवस्थामा पुर्याउन सरकार, निजी क्षेत्र सबै एकजुट भएर लाग्नुपर्ने बताएकी छन् ।
शुक्रबार काठमाडौंको भृकुटी मण्डपमा आयोजित हिमालयन हाइड््रो एक्स्पो २०१८ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा जलविद्युत उत्पादन शुरु भएको १ सय ७ वर्ष पुगिसक्दा जम्मा ९ सय मेगावाट मात्र जलविद्युत उत्पादन भएकोले यसको गति बढाउन आग्रह गरेकी थिइन।
उनले पर्याप्त जालस्रोतको अधिकतम सदुपयोग गर्दै उर्जा विकासमा लाग्न सरकार तथा सम्बद्ध पक्षसँग आह्वान गरेकी छन् ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको विकासको सूचकको रुपमा ऊर्जा खपतलाई समेत हेरिने र नेपालमा त्यसको अवस्था निराशाजनक भएको बताइन् ।
उनले जलविद्युतको विकासमा बाधक बनेको प्रशासनिक र कानुनी प्रकृया सहज बनाउन सरकारसँग आग्रह गरिन् ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले देशको औद्योगिक विकासको लागि उर्जा विकासलाई पहिलो प्राथमिकता दिनु पर्ने बताए ।
एक्स्पोको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै इपानका अध्यक्ष गुरागाईले राजनितिक दल, सरकार र सम्बद्ध पक्षले उर्जा विकासमा प्रतिबद्धता जनाउनु पर्ने बताए । उनले उर्जा विकासमा प्रयोग हुने प्रविधि दशकौं पुरानो भएकोले लागत धेरै हुने तथा नतिजा राम्रो नआएको बताए ।
उनले नेपाली ऊर्जा उत्पादक र उपभोक्ताहरुको नजरमा अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका आधुनिक प्रविधिलाई पुर्याउन एक्स्पोको आयोजना गरिएको बताए ।
पुस २१ गते देखि २३ गतेसम्म सञ्चालन हुने एक्स्पोमा जलविद्युत विकासक, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्त कम्पनीहरुका झण्डै १ सय भन्दा बढी स्टलहरु रहेका छन् । जसमध्ये पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको छ ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता छ ।
एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन गरिएको छ ।
पहिलो दिन पुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुष २२ गते बैंकिंग तथा इन्स्योरेन्स र अन्तिम दिन पुष २३ गते हाइड्रो पावर विकासका विविध पक्षमा सेमिनारहरु संचालन हुनेछन् ।
एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दा बढी सेमिनार संचालन गरिने छ ।
एक्स्पोमा विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार भएका वस्तु तथा सेवाबिच प्रतिस्पर्धा समेत हुँदैछ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेमध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ ।
उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ ५५ पैसा तथा द्धितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २ स २२ रुपैयाँ २२ पैसा र ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ ।
नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्वभा भएको एक्स्पोलाई नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स सहयोग गरेका छन् ।
यस्तै नेपाल टनेलिङ एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सघाएका छन् ।
एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एण्ड एयर लजिस्टिक प्रा ली र एनएमबि बैंक लिमिटेड रहेका छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा हाइड्रो एक्स्पो सुरु भएको हो ।