काठमाडौं,१० साउन। नेपालका वायुसेवा कम्पनीहरुले आफ्ना विमान चीनका १५ वटा विमानस्थलमा उडान र अवतरण गर्न पाउने भएका छन्।
मन्त्रालयले चीन सरकारसँग २० वर्ष अगाडि गरिएको सम्झौता पुनरावलोकन गर्दै सो सुविधा लिएको हो ।
संझौता पुनरावलोकन तथा नवीकरणको लागि चीनको भ्रमणमा गएको पर्यटनका सहसचिव सुरेश आचार्य सहितको टोलीले चीनका हवाई अड्डामा उडान संख्या थप्ने सफलता पाएको हो । सम्झौता अनुसार नेपाल चीनबीच साताको १८ वटा उडान थपिएको मन्त्रालयले जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको विवरणमा नेपालबाट चीनको बेइजिङ, ल्हासा, सांघाइ, कुनमिङ, ग्वान्जाउ, छेन्दु, सियान लगायत सातवटा गन्तब्यमा व्यवसायिक उडान गर्न सकिने सम्झौतामा छ।
मन्त्रालयका अनुसार ७० वटा उडान हुँदै आएकोमा अब ९८ उडान गर्न सकिनेछ।
पुनरावलोकन सम्झौताका लागि मन्त्रालयले एक महिना अघि चीनलाई पत्राचार गर्दै आएको थियो।
विगतमा नेपाल वायुसेवा निगमले काठमाडौं,सांघाई ओसाका उडान गर्दै आएको थियो । निगमसंग जहाजको अभाव भएपछि सो सेवा काटिएको थियो । अहिले चीनमा हिमालयन एयरलाइन्सले चार्टर्ड उडान गर्दै आएको छ।
निगमले चीनको छेड.दुमा नियमित उडान सुरु गर्न प्रकृया अगाडि बढाएको छ भने बुद्ध एयरलाइन्सले निकट भविष्यमा चीनमा उडान गर्ने योजना अगाडि सारेको छ।
नेपाल र चीनबीच सन् १९९८, जुलाई सात तारिखमा हवाई सम्झौता भएको थियो।








