Prakash Adhikari July 31, 2019

ललितपुर,१४ साउन । फिफा विश्वकप छनौटतर्फ समूह बी मा परेको नेपालले पहिला अवे म्याचहरु खेल्ने भएको छ । हाल नेपालमा फिफा र एएफसीको मापदण्डअनुसार रहेको एक मात्र स्टेडियम दशरथ रंगशाला ७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि निर्माणाधिन अवस्थामा छ ।

साथै आउँदो डिसेम्बरमा नेपालमै दक्षिण एसियाली खेलकुद (साग) पनि आयोजना हुने भएकोले तथा दशरथ रंगशालाको निर्माण कार्य सम्पन्न हुन मिति पनि अनिश्चित भएकाले नेपालले विश्वकप छनौटतर्फ आफ्नो घरेलु म्याचहरु कहाँ खेल्ने बारेमा अन्यौल बढिरहेको छ ।

यद्यपि मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)को बसेको आपतकालिन बैठकले विश्वकप छनौटतर्फ नेपालले पहिला घरेलु म्याचको सट्टा अवे म्याच खेल्ने निर्णय गरेको छ ।


एन्फाले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएअनुसार एसियाली फुटबल महासंघ (एएफसी) सँगको आवश्यक छलफतल पश्चात् सो निर्णय गरिएको बताएको छ ।

साथै अन्य खेलहरु पनि एएफसीको खेलतालिका अनुसार नै खेल्ने गरी एसिउाली फुटबल महासंघसँग एन्फाले अनुमति लिएको बताइएको छ । त्यस्तै १९ नोभेम्बरका दिन कुवेत विरुद्धको होम म्याच कुवेत फुटबल संघसँग आवश्यक समन्वय गरेर कुवेत मै खेलाइने निर्णय गरिएको समेत एन्फाले विज्ञप्तीमा जनाएको छ ।

विश्वकप छनौटतर्फ समूह बी मा परेको नेपालसँगै एसियन पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ रहेका छन् । नेपालले आफ्नो पहिले खेल ५ नोभेम्बरका दिन कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएको थियो । साथै समूह चरणको अन्तिम खेल सन् २०२० को जुन ४ तारीखका दिन जोर्डनसँग अवे म्याच खेल्ने कार्यक्रम थियो ।

Share Now

Leave a comment.