काठमाडौं, १० भाद्र । नेपाल वायुसेवा निगमले दुईदिन थाल्ने भनिएको जापानको ओशाका उडान निगमभित्रका घुस्याहाहरुको कारणले उच्च जोखिममा परेको छ ।
निगमका विमानको लागि जापानको उडानको सबै पूर्व तयारीको बन्दोबस्त आफ्नो कम्पनीमार्फत मिलाउदै जापानको नागरिक उड्डयन ब्यूरो(जापान सिभिल एभिएसन ब्यूरो, जेक्याब)को स्वीकृति ल्याएपछि निगमका सर्वशक्तिमान कार्यकारी अध्यक्ष मदन खरेलले निहित स्वार्थ पूरा नगरेको भनी लखेट्नुभएका गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचनले ओशाकाबाट आशा खबरलाई बताउनुभए अनुसार २९ अगष्टका लागि जापानबाट काठमाडौं आउने यात्रुहरुको टिकट बिक्री शून्य छ । निगमले जिम्मा दिएको नयाँ प्यासेन्जर सेल्स एजेण्टकाप्रति जापानी ट्रभल एजेन्सीहरुले विगतमा धोका पाएको कारण जनाउदै सेल्स सेवा दिन मञ्जुर गरेका छैनन् ।
२०७२ सालदेखि जापानका लागि नेपाल बायुसेवा निगमको प्रतिनिधित्व गर्दै आउनुभएका र आफ्नो कम्पनीमार्फत निगमका जहाजलाई जापानको ओशाका उडानको स्वीकृति लिने बन्दोबस्त गर्नुभएका हिराचनले भन्नुभयो, ‘जहाजको अवतरणपछि यात्रुहरुको सुरक्षा जाँच गर्ने र जहाजमा यात्रुहरु बोर्डिड. गर्दा पनि सुरक्षा जाँच गर्ने अफिसर नै नयाँ कम्पनीले पाएको छैन् । सुरक्षा अधिकारीको अभावमा जबरजस्ती चलाएमा निगमलाई जापानको नागरिक उड्डयन ब्यूरोले कालोसूचीमा राख्न सक्नेछ ।’
उहाँका अनुसार नागरिक उड्डयन क्षेत्रमा संसारभर आतंककारी, आत्मघाती र अपराधी पृष्ठभूमिका यात्रुहरु ठूलो त्रास भएका छन् । विमानस्थलदेखि जहाजसम्म त्यस्ता यात्रुहरुको प्रवेश रोक्नका लागि उनीहरुको सरसामानको चेकजाँच, उनीहरुको जाँच पड्ताल लगायतका उड्डयन सुरक्षाका लागि आवश्यक काम गर्न हरेक देशमा नागरिक उड्डयन विभागले संबन्धित एअरलाइन्सलाई सुरक्षा अधिकारी तोकिदिएको हुन्छ । उनीहरुले अन्तराष्टिय मापदण्डका आधारमा आफ्नो राष्टिय मापदण्ड बनाएका हुन्छन् त्यसका लागि आवश्यक तालिम दिएका हुन्छ । त्यस्तो तालिम लिएका अधिकृतसंग अरुलाई दिन नमिल्ने रातो सुरक्षा म्यानुअल हुन्छ । त्यसै अनुरुप अवतरण गरेका यात्रुको सुरक्षा जाँच र उडान गर्ने यात्रुको सुरक्षा जाँच हुन्छ । त्यस्तो सुरक्षा जाँचको लाईसेन्स निगमको नियमित उडानको स्वीकृति लिने समयमा निगमका तर्फबाट तालिम लिई हिराचनको कम्पनीकी आयुमी फुकाईको नाममा रहेको छ ।

निगमले १५ जुलाईमा जापानको प्रतिनिधिबाट हिराचनलाई हटाए पनि सुरक्षा अधिकारीको बन्दोबस्त गर्न सकेको छैन् । हटाईसकेको कम्पनीका तर्फबाट हिराचनकी सुरक्षा अधिकारीले त्यो काम गर्न मिल्दैन् । सुरक्षा अधिकारीको बन्दोबस्त बिना जबरजस्ती जहाज उडाएमा नेपाल वायुसेवा निगम छिट्टै जापानको कालोसूचीमा पर्न सक्ने उहाँको दाबी छ ।
तर निगमले पीएसएको जिम्मा दिएको एआईजेका एक नेपाल साझेदार पीएस राणाले भने ओशाका उडानको सबै तयारी पूरा भएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार जापानमा आउने राज्यमन्त्रीसहितका भीआईपी र अतिथिहरुको बासको बन्दोबस्त भएको छ । विशेष अतिथिहरुलाई ओशाका र जापानको राजधानी टोकियोमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी गराइने छ ।
दुवै शहरमा आयोजना हुने पहिलो उडानका स्वागत कार्यक्रम नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डले आयोजना गर्नेछन् ।
निगमले यस अगाडि नै पहिलो उडानमा काठमाडौंबाट ओशाका जान टिकट काट्ने यात्रुहरुको संख्या ७० भएको जनाएको थियो ।
उद्घाटन उडान भएकोले यस्तो उडानमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरु,विभागीय मन्त्रालयका कर्मचारीहरु,सांसदहरु,सञ्चारकर्मीहरु, प्रतिष्ठित उद्योगी र व्यापारीहरु, पर्यटन क्षेत्रसंग संबन्धित व्यवसायिक संगठनका प्रतिनिधिहरुलाई सित्तैमा लगिने र उनीहरुको खानेबस्ने सुविधा पनि आयोजकले ब्यहोरिदिने प्रचलन रही आएको छ । यति गर्दा पनि जहाज नभरिएमा यसरी जाने टोलीका दम्पतीलाई आंशिक खर्च ब्यहोरेर सहभागी गराइन्छ ।
त्यसैले पहिलो उडानमा यताबाट पाहुनाहरुको लाबालस्करले जहाज भरिए पनि उताबाट सोही दिनको दिउँसो फर्कने जहाजमा आउने यात्रुहरुको अनुमानित संख्या हालसम्म किटान हुन सकेको छैन् ।
निगमको उच्चस्रोतले दिएको जानकारी अनुसार एक उडाने(आतेजाते)मा निगमको लागत खर्च करिब डेढ करोड रुपैया हुन्छ र हप्ताको ३ उडान गर्दा करिब ५ करोड लागत हुन्छ । महिनामा २० देखि २५ करोड नोक्सानी थपिने अवस्था सिर्जना हुँदैछ । जहाजमा ६० प्रतिशत सीट भरिएमा मात्र जहाजको सञ्चालन खर्च उपर गर्ने अवस्थामा पुग्छ । यसकोलागि २ सय ७४ सीट भएका बाइडबडीका जहाजको प्रत्येक उडानमा १ सय ६५ सीट पूरा भाडा तिर्ने यात्रुले भरिनुपर्दछ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जापान उडानको योजना ब्यापारिक रुपले र निगम तथा राष्ट छविका हिसाबले उपयुक्त बनाउन नसकेपछि यसको दोष गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष हिराचनलाई दिएर उम्किन खोज्नुभएको छ । उहाँले मन्त्रीलाई समेत जापान उडानमा हिराचन बाधक भएको गलत ब्रिफिड. गराउनु भएको छ ।
जबकी सत्य चाही उहाँका अबाञ्चित इच्छा पूरा नगरिदिएपछि अन्तराष्टिय उडानको संवेदनशीलता नै नबुझिकन उहाँले हिराचनलाई हटाउदा जापानको समस्या सिर्जना भैरहेको छ र यसले भविष्यमा समेत निगमलाई असर पुर्याउने दाबी उड्डयन क्षेत्रका जानकारहरुको रहेको छ ।




















