Prakash Adhikari August 27, 2019

काठमाडौं,१० भाद्र । प्रतियोगितामा खराब शुरुवात गर्नुका बावजुद नेपालले जारी साफ यु–१५ च्याम्पियनसिपमा उत्कृष्ट पूनरागमन गर्दै फाइनल प्रवेशको सम्भावना कायम राखेको छ ।

मंगलबार जित्नैपर्ने दबाबका साथ महत्वपूर्ण खेलका लागि मैदानमा उत्रिएको नेपाली युवा टोलीले साविक विजेता बंगलादेशलाई ४–१ ले हरायो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका कृष्ण अधिकारी यादवले दुई गोल गरेपछि नेपालको उत्कृष्ट जित पक्का भएको हो ।

कृशनले खेलको ४५औं मिनटमा गोल गर्दै नेपालका लागि खाता खोलेका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो । नेपालका लागि दोस्रो गोल ५२औं मिनटमा सुगन जिमीले गरे ।

यद्यपि खेलको ७९औं मिनटमा बंगलादेशका लागि मियाले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर तर ८३औं मिनटमा प्रदिप लम्सालले नेपालका लागि तेस्रो गोल गरे भने ८८औं मिनटमा कृष्ण अधिकार यादवले नै व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरे ।

नेपालले आफ्नो अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ । प्रतियोगिताबाट बाहिरिसकेको भुटानलाई हराउन सकेन नेपाल फाइनलमा प्रवेश गर्नेछ । बिहीबार नै बंगलादेशले भारतसँग खेल्नेछ । जुन उसका लागि निकै महत्वपूर्ण समेत हुनेछ । साथै नेपाल र बंगलादेशको नतिजासँगै आयोजक भारत फाइनलमा प्रवेश गरेको छ ।

Share Now

Leave a comment.