Prakash Adhikari September 2, 2019

बहमास,१६ भदौ(बीबीसी) । प्रतिघण्टा २८५ किलोमिटरको वेगमा डोरियन नामक क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी उत्तर-पश्चिमी बहामस पुगेको छ।

समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरियन ‘अति खतरानाक’ आँधी हो।

ग्र्याण्ड बहामाका बासिन्दाहरूलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ।

जनजीवनका लागि आँधी घातक हुन सक्ने र सात मिटर उचाइसम्म पुग्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन्।

बाढी
स्थानीय समय अनुसार दिउँसो १२ बजेर ४० मिनेटमा आँधी उत्तरी बहामसमा पर्ने एबाको टापुको एल्बोकी पुगेको थियो।

स्थानीय बासिन्दाहरूले केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको दृश्यसहितका फूटेजहरू पोस्ट गरेका छन्।

टापु राष्ट्र बहामसमा डोरियन आँधीको त्रास
डोरियन आँधी ग्रेट एबाको टापु र नजिकका क्षेत्र अथवा ग्र्याण्ड बहामा टापुमा आइतवार अबेर वा सोमवारसम्म पुग्ने अपेक्षा गरिएको छ।

फ्लोरिडा
पूर्वी फ्लोरिडामा महिला कैदीहरू आँधीबाट जोगिने पूर्वतयारीमा सुरक्षकर्मीलाई सघाइरहेको देखिएका थिए
अधिकारीहरूले टापुका केही विमानस्थल बन्द गराए पनि आइतवार प्रमुख विमानस्थल खुला राखिएको छ।

बहामसलाई हानेपछि डोरियन आँधी संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार सोमवार अबेर प्रवेश गर्ने ठानिएको छ।

बहामसको तयारी
यसअघि बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले ग्र्याण्ड बहामा र एबाको टापुका कतिपय स्थानबाट मानिसहरूलाई अन्यत्र सार्न आदेश दिएका थिए। सबै पर्यटकहरूलाई टापुहरू छाड्न आदेश दिइएको थियो।

आइतवार एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री मिनिसको गहभरि आँसु थियो।

उनले भने, “बहामसका जनतालाई सम्बोधन गरिरहँदा सम्भवतः यो मेरो जीवनको सबैभन्दा दुःखद र नराम्रो दिन हो।”

डोरियनलाई उनले ‘राक्षस आँधी’को सङ्ज्ञा दिए।

डोरियन ठ्याक्कै जाने मार्ग अनिश्चित छ। तर संयुक्त राज्य अमेरिकाका चारवटा राज्य फ्लोरिडा, जर्जिया, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा आपत्‌कालीन अवस्था घोषणा गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले डोरियन आँधीलाई हेरिरहेको बताएका छन् र पोल्याण्डका लागि निर्धारित भ्रमण रद्द गरी आफ्नो ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई पठाएका छन्।

Share Now

Leave a comment.