Prakash Adhikari September 1, 2019

काठमाडौं, १५ भाद्र । चिनीया ह्याकरहरुले नेपालका प्रतिष्ठित बैंकहरुको एटीएम सिस्टम ह्याक गरेर शनिबार डेढ करोडभन्दा बढी रकम निकालेको घटनाको छानविन गर्न नेपाल राष्ट्र बैंकले समिति गठन गरेको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागका प्रमुख एवम् कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । ५ सदस्यीय समितिमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि सम्बन्धि विज्ञ र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको प्रतिनिधि समितिको सदस्य छन् । समितिले ढिलोमा बुधबारसम्म बुझाउने छ ।

यता नेपाल राष्ट्र बैंकले गरेको अनुसन्धानमा चिनियाँ ह्याकरहरुले पहिले सार्वजनिक भए भन्दा दोब्बर बढी रकम निकालेको खुलासा भएको छ । उनीहरुले काठमाडौंबाट १ करोड ६८ लाख निकालेको नेपाल प्रहरीले जनाएको थियो । तर राष्ट्र बैंकको अनुसन्धानमा उनीहरुले ३ करोड ५४ लाख निकालेको देखिएको छ ।

नेपाल राष्ट बैंकका अनुसार ह्याकरहरुले भारतबाट नेपाली बैंकको थप १ करोड ५ लाख भारतीय रुपैयाँ निकालेको खुल्न आएको छ । भारतमा १ हजार पटक एटिएम कार्ड प्रयोग भएको राष्ट्र बैंकले जनाएको छ । भारतमा पनि भिसा नेटवर्क नै प्रयोग भई उक्त रकम निकालिएको हो । ह्याकरहरुले नेपालमा भने ७ सय पटक कार्ड प्रयोग गरेर रकम झिकेको खुल्न आएको छ ।

शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ र २९ वर्षका लिन जिनमिङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट कार्ड छाप्ने मेसिन सहित विभिन्न ६ देशको मुद्रा बरामद गरेको छ ।

प्रहरीले उनीहरुसंग बाट नेपाली मुद्रा १ करोड २६ लाख २९ हजार ४५ , अमेरिकन डलर ९ हजार १ सय ८, चाइनिज मुद्रा ११ सय ९१, युरो २ सय ५०, कम्बोडियन ५ हजार, र हङकङ डलर ८०,बरामद गरेको छ । त्यस्तै प्रहरीले १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिषा कार्ड, एउटा कार्ड छाप्ने प्रिन्टर, ६ वटा मोबाइल, एउटा ल्यापटप र एउटा पेन ड्राइभ बरामद गरेको छ।

प्रहरीका अनुसार सो समूहका ३ जना अझै फरार छन् ।

कसरी पक्राउ परे चिनिया

शनिवार दिउँसो करिब ४ बजेतिर प्रभु बैंकका एक कर्मचारीले महानगरीय प्रहरी परिसरमा ‘हाम्रो कार्ड घोटेर दरबारमार्गबाट अस्वाभाविक रुपमा रकम झिकिएको छ। एउटै व्यक्तिले रकम झिकेको देखिन्न्छ ‘ भनेर सूचना दिएका थिए ।

सूचना पाउने वित्तिकै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली दरबारमार्गमा रहेको एटिएम बुथतिर लाग्यो।

नबिल बैंकको एटिएमबाट एक विदेशी युवक पैसा झिकेर निस्किँदै थिए। उनी प्रहरीको शंकाको घेरामा परे। सिभिल ड्रेसमा रहेको प्रहरीले उनलाई नियन्त्रणमा लिए।

विदेशी भएकाले नेपाली बुझ्ने अवस्थै थिएन। प्रहरीले अंग्रेजीमा गरेको प्रश्नको जवाफ नै आएन। प्रहरीलाई यतिखेर दोभाषेको अभाव खड्कियो। याक एन्ड यति होटेलबाट निस्किएका एक कर्मचारी प्रहरीको सहयोगी बने। उनले चिनियाँ भाषा बोल्न जानेकाले ती व्यक्तिसँग सम्वाद गरे।

होटेल कर्मचारीको सम्वादपछि उनी चिनियाँ नागरिक भएको प्रष्ट भयो। नाम खुल्यो झु लियानग्याङ। प्रहरीले उनको साथबाट ४५ हजार रुपैयाँ फेला पार्‍यो। नेपाल भ्रमणका लागि त्यति रकम स्वभाविक मान्न सकिने अवस्था रहे पनि प्रहरीले उनको शरीरको खानतलासी गर्दा २० वटा एटीएम कार्ड भेट्यो । झुको साथमा होटलका दुईवटा चाबी भेटिए। कोठा नम्बर ६०२ र ६०४ लेखिएको सो चाबी नागपोखरी नेरको माया मिनोर बुटिक होटेलको थियो।

maya manor boutique hotelको लागि तस्बिर परिणाम

कोठा नम्बर नै खुले पछि प्रहरी होटेलमा पुग्यो । सो कोठमा झुका साथी लिन जियानमेङ, लुओ जियालेइ, क्वी युनकिङ र चेन बिन बिन होटेलबाट चेक आउट गरेर हिँड्ने तर्खरमा थिए। खाजा खान लागेकाले केही अबेर भएको थियो। उनीहरु दुई वटा ब्रिफकेस र झोला कसकास पारेर बाहिर निस्कनै आँटेका थिए । प्रहरीले झोला र ब्रिफकेस खोलेर खोल्यो । दृश्य अचम्म लाग्दो थियो । नमिलाइ कोचिएको अवस्थामा लाखौं रुपैयाँ देखियो।

उनीहरु शुक्रवार दिउँसो मात्र नेपाल आएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए पनि नेपाल राष्ट बैंकले भारतबाट नेपाली बैंकका क्रेडिट कार्डबाट झण्डै एक करोड बढी रुपैया निकालिएको घट्नाले उनीहरुको समूह ठूलै हुनसक्ने बताइएको छ ।

उनीहरुले एटिएमबाट रकम लुट्नको लागि चीनबाट १ सय ३२ वटा एटिएम ह्याक गर्ने कार्ड समेत ल्याएको भेटिएको छ। शनिवार उनीहरुले दरबारमार्ग, ठमेल, सोह्रखुट्टे लगायतमा रहेका एटिएमको रकम लुटिसकेपछि अर्को होटेलमा सर्ने योजना बनाएका थिए।

शनिवार दिनभरि रकम झिकेर आइतबार क्यासिनोमा रमाइलो गरी सोमबार चीन फर्कने उनीहरुको योजना झूको पक्राउ पछि चकनाचूर हुन पुगेको थियो। नेपालमा शनिवार सार्वजनिक विदा हुने बैक तथा वित्तीय संस्था पनि बिदाको असर भएकोले यस्तो चोरीको कार्यमा निगरानी हुने नसक्ने ठहर गर्दै उनीहरुले शनिवार नै रकम झिक्ने योजना बनाएका थिए ।

प्रहरीले ५ जनाबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ। तर राष्ट्र बैंकका निर्देशक बमबहादुर मिश्रले भने ३ करोड ५४ लाख रुपैयाँ झिकिएको बताउनुभएको छ।

यो समूहले नेपालबाहिरबाट पनि नेपालमा जारी भिसा कार्डबाट रकम झिकेको हुन सक्ने आशंका गरिएको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले भने साढे तीन करोड हाराहारी पैसा झिकिएको देखिएको जनाएको छ। लुटिएको रकमको पूर्ण विवरण भने आइसकेको छैन।

पैसा झिक्नका लागि ह्याकरहरुले नबिल, नेपाल एसबीआइ र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको छ। कार्ड भने प्रभु, एनआइसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आर्इएमर्इ र सनराइज बैंकको प्रयोग भएको छ।

Share Now

Leave a comment.