काठमाडौ, २४ भाद्र । बी.पीं कोइराला स्मृति ट्र्ष्टले यस बर्षको बी.पी. कोइराला साहित्य सम्मान साहित्यकार बैरागी काईला र बी.पी. कोइराला प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरेको छ ।
१०६ औं बी.पी. जयन्तीको अवसरमा राजधानीमा आयोजित एक समारोहका बीचमा सो सम्मान प्रदान गरिएको थियो ।
काइँलालाई १ लाख नगदसहितको कदर पत्र र सिंहलाई ५० हजार नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।
बी.पी. कोइरालाका सुपुत्र तथा ट्र्ष्टका अध्यक्ष श्रीहर्ष कोइरालाको सभापतित्वमा भएको सो सम्मान कार्यक्रम नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुख आतित्थमा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका नेता डा. कोइरालाले बी.पी. कोइरालाको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै उहाँले आरम्भ गर्नुभएको प्रजातान्त्रिक समाजवादको मार्ग नै नेपालको समुन्नतिको उपयुक्त मार्ग भएको बताउनु भयो ।
उहाँले सरकार संस्थागत भ्रष्टाचारमा लागेको आरोप लगाउदै प्रमुख प्रतिपक्षी कांग्रेसको नेतृत्व चुप लागेर बसेको बताउनुभयो ।
उहाँले सरकार वाइड बडी, सुन काण्ड, तारागाँउ काण्ड, एनसेल काण्ड, मेलम्ची काण्ड, राष्ट्रिय परिचय पत्र काण्ड जस्ता काण्डै काण्डमा निर्लिप्त भएको बेलामा पनि प्रतिपक्षले सुशासन र जनताको पक्षमा आवाज उठाउन नसकेको गुनासो गर्नुभयो ।

उहाँले पछिल्लो पटक राष्ट्रिय परिचयपत्र बनाउन विना टेण्डर ठेक्का दिएर ५ अर्बभन्दा बढी भ्रष्टाचार गरेको बताउनुभयो ।
उहाँले सरकारले गणतन्त्र र संघीयतालाई असफल बनाउन खोजेको आरोप लगाउनुभयो ।
कोइरालाले कांग्रेसको नेतृत्वको अघि कार्यकर्ता बोल्न नसक्ने र मुखमा ताल्चा लगाएको अवस्थामा पुगेको भन्दै कार्यकर्ताको आलोचना सुन्न नसक्ने नेतृत्वले पार्टीको नियमावलीमा समेत नेतृत्वको आलोचना गरे अनुशासनको कारबाही गर्ने प्रावधान राखेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा ट्रस्टका उपाध्यक्ष पूर्वमन्त्री बलदेव मजगैयाले स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव रामचन्द्र पोखरेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व बैरागी काईलाको साहित्यिक व्यक्तित्वका बारेमा डा.अभि सुवेदी र मधुकान्त सिंहको बारेमा पूर्व राजदूत डा. सुरेश चालिसेले प्रकाश पार्नुभएको थियो भने सम्मान पत्रको व्यहोरा ट्र्ष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले वाचन गरेर सुनाउनु भएको थियो ।
साहित्यकार सन्ध्या पहाडीद्धारा सञ्चालित सो कार्यक्रममा सम्मानित व्यक्तित्व द्धय काइला र सिंहले नेपाली राजनीति र साहित्यका शीर्ष व्यक्तित्व वी.पी. कोइरालाका नाममा स्थापित सम्मानबाट सम्मानित भएकोमा आफूहरु गौरवान्वित भएको बताउनुभएको थियो ।




















