Prakash Adhikari January 7, 2018

काठमाडौं, २३ पौष । निर्वाचन आयोगले दुई चरणमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आयोग मार्फत रु ५ अर्ब ६२ करोड २१ लाखभन्दा केही बढी रकम खर्च भएको जनाएको छ ।

गत मंसिर १० र २१ गते देशभरका १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचनमा प्रतिनिधि सभातर्फ १ सय १० र प्रदेश सभातर्फ २ सय २० स्थानको समानुपातिक तर्फको मतदान पनि संगै गराइएको थियो ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन प्रयोजनका लागि आयोगले सरकारबाट जम्मा १० अर्ब रुपियाँ प्राप्त गरेको थियो । त्यसमध्ये ३० करोड रुपियाँ पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो । निर्वाचनको नियमित खर्चको लागि ९ अर्ब ७० करोड रुपियाँ लागि छुट्टाइएको थियो ।
उक्त बजेटमध्ये पुस २१ गतेसम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ (कुल बजेटको ५७।९६ प्रतिशत) रुपियाँ मात्र खर्च भएको छ।
खर्च भएको रकममध्ये ७७ जिल्लामा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६ सय ८ (५०दशमलव१२ प्रतिशत) रुपियाँ पठाइएको थियो भने आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा ७६ करोड ६ लाख ७८ हजार ६ सय ९१ (७.८४ प्रतिशत) रुपियाँ मात्र खर्च गरिएको छ ।
सरकारबाट प्राप्त बजेटमध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपैया (४२ दशमलव ४ प्रतिशत) रुपियाँ बाँकी रहेको छ । आयोगले सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइने जनाएको छ ।
आयोगले निर्वाचनमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो भने ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए ।

निर्वाचन सम्पन्न गराउन १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका थिए ।
आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनको खर्च सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गर्दै मितव्ययी तथा पारदर्शी ढंगले गरेको समेत जनाएको छ ।

Share Now

Leave a comment.