Prakash Adhikari January 8, 2018

काठमाडौं,२४पौष । प्रधान न्यायाधीशको राजिनामा सहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई बर्खास्त गर्ने माग राखी अनसनमा बसेको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्रा. डा. गोविन्द के.सी.लाई प्रहरीले आमरण अनशनस्थलबाटै पक्राउ गरेको छ ।

प्रा. डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा.केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको तीन घण्टाभित्रै नेपाल प्रहरीले उनलाई पक्रेको हो ।

अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई  मंगलबार विहान ९ बजे उपस्थित गराउन नेपाल सरकार गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको थियो ।सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रा. डा. केसीलाई अदालत उपस्थित गराउन आदेश दिएको हो ।

सोमबार ४ बजेदेखि अनशनमा बसेका डा. के.सी.ले त्यस अगाडि पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली सहित न्यायाधीशहरु भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए । उनले न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ भनेका थिए ।

न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै उनले ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन भनेका थिए ।

उनको यो अभिव्यक्ति आएपछि सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अवहेलना मुद्दा हालेका थिए । सोही मुद्दाको सुनुवाईमा न्यायाधीश शाहीको इजलाशले उनलाई पक्रेर मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा हाजिर गराउन आदेश दिएको थियो ।

प्राध्यापक डाक्टर शशी शर्मालाई ४ दिनको लागि भएपनि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा पुनर्बहाली हुन प्रधानन्यायाधीश सहितको इजलासले फैसल गरेपछी त्यसमा डाक्टर केसीले असन्तुष्टी जनाएका थिए।

४ वर्ष अघि सरकारले शर्मालाई डिन बनाएपछी त्यसविरुद्ध डाक्टर केसीले अनसन बसेका थिए। कि त बरिष्ठताका आधारमा नभए मापदण्ड बनाएर नियुक्ति गर्नुपर्ने उनको माग थियो। त्यसपछि सरकारले शर्मालाई हटाएको थियो। सरकारले आफुलाई हटाएपछि शर्मा सर्वोच्च गएका थिए। उनको रिटमा तत्कालिन न्यायाधीश सुशीला कार्कीले अन्तरिम आदेश नहुने निर्णय गरेकी थिइन्।

त्यसको ४ वर्षपछी आइतबार प्रधानन्याधीश पराजुलीको इजलासले शर्मालाई पुनर्वहाली हुन भनेका थिए। उक्त आदेश आएपछी प्रधानन्यायाधीशले माफियाको साथ दिएको भन्दै डा. के.सी.ले आलोचना गरेका थिए।

पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने बताएका छन् ।

चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने उनको माग थिए ।

सर्वोच्चले जारी गरेको आदेशमा डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमा भ्रम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको उल्लेख गरिएको छ । आदेशमा भनिएको छ, अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी २०७४।९।२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।’

अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधीश शाहीको पनि आलोचना गरेका थिए ।

 

Share Now

Leave a comment.