Prakash Adhikari October 11, 2019

दमास्कस(सिरिया),२४ असोज(बीबीसी)। टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ।

बिहीवार दिनभर टर्कीले हवाई हमला तथा गोलाबारी गर्‍यो।

कुर्दहरूका अनुसार ९ गैरसैनिक मारिएका छन्।

टर्कीपट्टिको नगरमा कुर्दहरूले हमला गरेका छन्। एक शिशु सहित कम्तीमा ३ जनाको ज्यान गएको छ।

गैरसैनिकको भागाभाग

मुख्य निशानामा सिमाना नजिकैको दुई नगर तल अब्याद तथा रस अल-ऐन रहेका छन्।

टर्कीको सेनाले ती दुवै नगरलाई घेराबन्दी गरेका छन्।

युद्धका कारण ६० हजारभन्दा धेरै मानिस त्यहाँबाट भागेका छन्।

सहायता संस्थाहरूका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्न सक्छ।

अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार मानिसले आफ्नो घर छाडेर भागिसकेका छन्।

युकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि उस्तै सङ्ख्या बताएको छ।

विस्थापित
उद्धार समितिका मिस्टी बस्वेलले भनिन्, “यदि हमला जारी भए तीन लाख मानिस विस्थापित हुन सक्छन्।”

मर्सी कोरसहित अन्य १४ मानवीय सहायता संस्थाहरूले सो सङ्ख्या साढे चार लाख पुग्न सक्ने बताएका छन्।

रस अल-ऐनका एकजना बासिन्दा सेभिनाजले बीबीसीलाई बिहीवार बिहान भने, “म मेरो बिरामी आमासँग नगरभन्दा बाहिर छु। मेरो भाइ नगरमै छ। कसैका लागि सुरक्षित ठाउँ छैन। मलाई डर छ मैले यो नगर अब अन्तिम पटक देख्दैछु।”

अन्तर्राष्ट्रिय दबाव
टर्कीलाई हमला रोक्न अन्तर्राष्ट्रिय दबाब बढेको छ।

टर्कीले कुर्दिश मिलिसियालाई हटाएर सो क्षेत्रमा सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र बनाउन चाहेको बताएको छ।

टर्कीले कुर्दिश मिलिसियाहरूलाई टर्कीविरोधी विद्रोह समर्थन गर्ने आतंकवादी मान्छ। सिरियन डेमोक्र्याटिक फोर्स एसडिएफका ती कुर्दिश समूहले सिमानाका नगरमा नियन्त्रण गर्छन्।

इस्लामिक स्टेट आइएसविरुद्धको लडाइँमा एसडिएफले अमेरिकाको साथ दिएको थियो।

तर राष्ट्रपति ट्रम्पले सो क्षेत्रबाट अमेरिकी फौज फिर्ता लैजाने निर्णय गरेपश्चात् टर्कीले त्यहाँ आक्रमण गरेको छ। एसडिएफले त्यसलाई धोका भनेको छ।

ट्रम्प
अमेरिकामा ट्रम्पकै पार्टी रिपब्लिकनका नेताहरूले पनि राष्ट्रपतिको निर्णयले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको भनेर आलोचना गरेका छन्।

वाशिङ्गटनले के गर्ला?
कुर्दिश फौजले सो क्षेत्रमा हजारौँ आइएस लडाकूलाई बन्दी बनाएर राखेका थिए। युद्धमाझ ती बन्दीबारे अन्तर्राष्ट्रिय समुदायले चासो प्रकट गरेका छन्।

वाशिङ्गटनमा राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन् कि टर्कीका पछिल्ला कदमबाट उब्जिएका समस्या समाधान गर्न उनी या त सैन्य हस्तक्षेप गर्न वा आर्थिक प्रतिबन्ध लगाउन वा टर्की र कुर्दबीच मध्यस्थता गराउन सक्छन्।

पछि पत्रकारहरूसँग बोल्दै उनले तेस्रो विकल्पचाहिँ आफ्नो रोजाइ रहेको बताए।

अमेरिकी सिनेटमा दुवै दल मिलेर टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउने कानुन बनाउँदैछन्।

कानुन मस्यौदामा सामेल नेताहरूका अनुसार कुनै पनि आर्थिक प्रतिबन्धको निशानामा टर्कीका नेताहरू पर्नेछन्।

Share Now

Leave a comment.