Prakash Adhikari October 14, 2019

 

काठमाडौं,२६ असोज । मित्र राष्ट्र् चीनका राष्ट्रपति सी जिनपिड.को दुई दिवसीय राजकीय भ्रमणका अवसरमा दुई देशका बीचमा पारस्पारिक सहयोगका २० वटा सम्झौता तथा समझदारीपत्रमा आइतबार हस्ताक्षर सम्पन्न भएको छ।

सम्पन्न सम्झौता तथा समझदारीपत्रमा पूर्वाधार विकासका रेल्वे, सुरुड.मार्ग, जलविद्युत,प्रशारण लाईन र सबस्टेशन, खानेपानी देखि कृषि,पर्यटन र सेवा क्षेत्रका शिक्षा तथा स्वास्थ्यलाई पनि समेटिएको छ।

आइतबार काठमाडौंको होटल सोल्टीमा बसेको नेपाल चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठकमा ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो।

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली र चीनको नेतृत्व चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नुभएको थिए।

प्रधानमन्त्री ओली र राष्ट्रपति सीको उपस्थितिमा दुई देशका सम्बन्धित निकायका अधिकारीले ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

चार वटा सम्झौता तथा समझदारीपत्रमा दुई देशका परराष्ट्रमन्त्रीहरुले हस्ताक्षर गर्नुभएको थियो भने बाँकीमा सम्बन्धीत मन्त्रालयका अधिकारीहरुबाट हस्ताक्षर भएको थियो।

सम्झौता तथा समझदारीपत्रमा चीनको तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यी, नेपालको लागि चिनियाँ राजदूत होउ याङकी, चिनियाँ उपवाणिज्य मन्त्रीले हस्ताक्षर गरेका गर्नुभएको थियो। यस्तै, नेपालको तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, अर्थसचिव, वाणिज्य सविच, उद्योग सचिव, शिक्षा सचिव, कृषि सचिवलगायतले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो।

आइतबार नेपाल र चीनबीच हस्ताक्षर भएका २० सम्झौता तथा समझदारीपत्र यस्ता छन्ः

१) सीमा व्यवस्थापन प्रणालीसम्बन्धी नेपाल सरकार र चीन सरकारबीचको सम्झौता।

२) सुशासन क्षमता अभिवृद्धिको लागि नेपाल र चीन सरकाबीच सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र।

३) नेपाल र चीनबीच आपराधिक घटनाका सम्बन्धमा आपसी कानुनी सहायता उपलब्ध गराउनेसम्बन्धी सन्धि।

४) सगरमाथा/चोमोलोङ्‍मा संरक्षण सहकार्यसम्बन्धी समझदारीपत्र।

५) नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्स्थापना आयोगबीच उत्पादन क्षमता अभिवृद्धि गर्ने उदेश्यले मुख्य लगानी तथा सहकार्यका क्षेत्रको प्रवर्द्धन गर्नेसम्बन्धी समझदारीपत्र।

६) चीनको छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्नेसम्बन्धी नोटको आदानप्रदान।

७) चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीचको समझदारीपत्र।

८) काठमाडौं महानगरपालिका र चीनको नान्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौता।

९) बुटवल उपमहानगरपालिका र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौता।

१०) नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको नेसनल एडमिनिस्ट्रेसन अफ ट्रडिसनल चाइनिज मेडिसिनबीच परम्परागत मेडिसिनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्र।

११) नेपालको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्थापन मनत्रालयबीच प्रकोप जोखिम न्यूनीकरण तथा आपत्कालीन सेवा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र।

१२) नेपालको महान्यायधिवक्ताको कार्यालय र चीनको सुप्रिम पिपल्स प्रोक्युरेटरबीच सहयोगसम्बन्धी समझदारीपत्र।

१३) त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्नेसम्बन्धी सम्झौता।

१४) नेपालबाट फलफूल चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकल।

१५) नेपालको उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच वाणिज्य क्षेत्रमा संयुक्त कार्यदल गठन गर्नेसम्बन्धी समझदारीपत्र।

१६) चाइना-एड अर्थक्‍वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको सेवा र स्वीकृत प्रमाणपत्र।

१७) नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल स्थापना गर्नेसम्बन्धी समझदारीपत्र।

१८) नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहायता एजेन्सीबीच सुरुङमार्ग निर्माण सहयोगसम्बन्धी समझदारीपत्र।

१९) सीमा सुरक्षा र कार्यालय उपकरणसम्बन्धी लेटर आदानप्रदान।

२०) काठमाडौं उपत्यकामा चीनको सहायतामा खानेपानी सेवा सुदृढीकरण आयोजनासम्बन्धी सम्भाव्यता अध्ययन।

Share Now

Leave a comment.